Saturday, March 23, 2024
Homeफिचर‘विमानस्थल स्तरोन्नतिका लागि महोत्सव’

‘विमानस्थल स्तरोन्नतिका लागि महोत्सव’

- Advertisement -spot_img


टरिगाउँ विमानस्थलको स्तरोन्नति, दोघरेमा बहुआयामिक सभाहल निर्माणको कामलाई पूर्णता दिन र नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउनका लागि तुलसीपुर महोत्सव–२०७६ जारी छ । महोत्सव सञ्चालन गर्नुको उद्देश्य ठूलो छ । उद्देश्यमा पुग्नलाई कति आर्थिक संकलन हुन्छ, एउटा सोचनीय विषय होला ? तर आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघले उठाएका विषय गौरवका योजना हुन् । महोत्सवबाट करिव एक करोड संकलन गर्ने लक्ष्य रहेको छ । यो रकमले संघले उठाएका विषयका लागि त पर्याप्त पक्कै छैनन् तर ति विषय बहसमा आउनु पनि महत्वपूर्ण कुरा हो ।
टरिगाउँ विमानस्थलमा ठूलो विमान अवतरण गराउने संघले देखेको सपनामात्र होइन् आम दङ्गालीको हो तर अहिलेसम्म ओझेलमा पर्ने गरेको छ । राजनैनिक दलका नेतृत्वले चुनावका समयमा यो विषयलाई प्रमुख मुद्दा बनाएपनि चुनावपछि हराएर जाने गरेको छ । अहिले महोत्सवमार्फत विमानस्थलको स्तरोन्नति निर्माण गर्ने प्रमुख विषय भएपछि बहसको विषय बनेको छ । संघले यसअघि सञ्चालन गर्ने गरेको महोत्सवबाट पनि विभिन्न किसिमका सार्वजनिक महत्वका योजनाले सार्थक पाएका छन् । अहिले सञ्चालन गरेको महोत्सवबाट पनि ठूला र महत्वकांक्षा योजना सारिएको छ । महोत्सवले उठाएका विषयले के पूर्णता पाउलान् ? किन ठूला महत्वकांक्षी योजना मात्रै संघले अघि सार्ने गरेको छ त ? महोत्सव आयोजक संस्था संघका विभिन्न पदाधिकारीसँग प्रदेश टुडेको राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप । 


पर्यटनमन्त्रीको प्रतिवद्धतामा कन्जुस्याँई

वीरबहादुर रावत (विरु)
अध्यक्ष
तुलसीपुर उद्योग वाणिज्य संघ

उद्योगी व्यवसायीहरुको साझा संस्था तुलसीपुर उद्योग वाणिज्य संघले यहाँको आर्थिक पक्षलाई बलियो बनाउन महान उद्देश्यका साथ महोत्सव सञ्चालन गरेको छ ।
तुलसीपुर महोत्सवबाट अधिकतम रुपमा बचत संकलन गरेर तुलसीपुरको विकास निर्माणमा निरन्तर लागिरहेको छ । अहिले पनि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दोघरेमा करिब एक हजार जना अट्न सक्ने क्षमताको बहुआयामिक सभाहल निर्माणलाई पूर्णता दिन तुलसीपुर महोत्सव सञ्चालन गरिएको हो ।
तुलसीपुर महोत्सव सञ्चालन भएपछि नै सभाहल निर्माणको कामले पूर्णता पायो भन्ने बुझ्नु्स, किनभने सभाहल निर्माणको काम करिब ९० प्रतिशत सकिसकेको छ, बाँकी रहेको करिब १० प्रतिशत काम त महोत्सवबाट संकलन गरेको रकम पर्याप्त नै हुने छ भन्ने आशा लिएका छौँ ।
महोत्सवबाट हामीले जुन अपेक्षा लिएका थियौँ, त्यो महान उद्देश्य प्राप्त गर्न सक्छौँ भन्ने शुरुवातको दिनबाटै देखिसकेको छ । महोत्सवमा दैनिकरुपमा कारोबार बढिरहेको छ भने दैनिकजसो दर्शकहरुको संख्या बढ्दै गएको छ ।
हामीले सञ्चालन गरेको महोत्सव भव्यरुपमा सम्पन्न गरी लिएको उद्देश्य प्राप्त गर्नेछौँ । महोत्सवबाट हामीले लिएको लक्ष्य पूरा हुन्छ भन्ने विश्वास बढ्दै गएको छ ।
महोत्सव सञ्चालन गर्दै गर्दा हामीले लिएको उद्देश्य पूरा गराउन आम विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्थाको महत्वपूर्ण साथ पाएका छौँ ।
यसले पनि हामीलाई झनै हौसला थपेको छ । कुनै पनि काम एक्लैले सम्भव छैन्, अझ जिल्लाको विकास निर्माणमा सबैको हातेमालो उत्तिकै आवश्यक छ ।
जिल्लाको व्यवसायको प्रवद्र्धन गरी आर्थिक पाटोलाई सशक्त बनाउन पनि तुलसीपुर महोत्सवले भूमिका खेलेको छ । हामीले स्थानीयस्तरमा हुने उत्पादनको बजारीकरण र प्रवद्र्धनका लागि पनि महोत्सव सञ्चालन गरेका हौँ ।
त्यसैगरी दाङमा कृषि उत्पादनको सम्भावना प्रशस्त देखिएकाले पनि कृषि सामाग्रीको प्रवद्र्धन गर्न महोत्सवमा कृषिजन्य सामाग्रीको प्रदर्शन गरिएको छ ।
यसले पनि कृषितर्फ किसानको आकर्षण बढ्ने र जिल्लाको आर्थिक पाटोलाई थप बलियो बनाउने विश्वास गरिएको छ । तुलसीपुर महोत्सवमा हुने गरेका विभिन्न किसिमका स्थानीय उत्पादनको बिक्री तथा प्रचारप्रसार भइरहेको छ, यसले पनि आर्थिक पक्ष झनै सशक्त बन्ने सम्भावना देखिएको छ ।
संघले दुई ठूला महान उद्देश्यका साथ महोत्सव सञ्चालन गरेको छ । बहुआयामिक सभाहल निर्माणको कामलाई पूर्णता दिन र तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न, इन्धन डिपो स्थापना गर्नका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ ।
विमानस्थलको स्तरोन्नति गर्नलाई रकम पर्याप्त त न होला तर हामीले लिएको उद्देश्य सरकारलाई नैतिक दवाव दिनका लागि पनि हो । किनभने विमानस्थल बनाउन सरकारले बजेट व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा हामीले महोत्सवबाट संकलन गरेको रकम पुग्ने कुरा त भएन तर पनि महोत्सवमार्फत सम्बन्धित निकायलाई नैतिक दवाव सिर्जना हुनेछ ।
विसं. २०११ सालमा निर्माण भएको टरिगाउँ विमानस्थल अझै पनि नियमित हुन सकिरहेको छ । ठूलो हवाईजहाज ल्याउन सहज वातावरण बनाउनका लागि थालिएका प्रयास अहिलेसम्म खासै सार्थक बन्न सकिरहेका छैन् ।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले थालेको कदमले दैनिक दुईवटा विमान अवतरण हुने भएको थियो तर त्यो पनि यहाँको संरचनाका कारण नियमित बन्न सकिरहेको छैन् ।
अहिले सञ्चालन भएको १२ सिटे जहाजले यहाँको मागलाई धान्न सकिरहेको छैन् । दङ्गालीका लागि भन्दा पनि समग्र साविक राप्तीबासीको गौरवको रुपमा रहेको टरिगाउँ विमानस्थलको स्तरोन्नतिसँगै ४८ सिटे जहाज अवतरण गर्ने वातावरण निर्माणका लागि हामीले यो अभियान सञ्चालन गरेका हौँ ।
तुलसीपुर महोत्सवको उद्घाटनमा पर्यटन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमानस्थलको अवलोकन गर्नुभयो र केही प्रतिवद्धता गर्नुभयो ।
तर उहाँले ति प्रतिवद्धता व्यक्त गर्न पनि अझै कन्जुस्याई गर्नुभयो जस्तो लागेको छ । महोत्सव पश्चात पनि विमानस्थलको विकासका लागि संघ निरन्तर अभियानमा लागिरहने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु । हामीले यहाँको विकास निर्माणका लागि सडक बन्द, कुनै किसिमका ठूला–ठूला आन्दोलनभन्दा पनि नैतिक दवाव सिर्जना गरिरहने छौँ ।


नैतिक दवावका लागि महोत्सव

विमल रिजाल
निवर्तमान अध्यक्ष
तुलसीपुर उद्योग वाणिज्य संघ

दाङको समग्र आर्थिक विकासका लागि तुलसीपुर महोत्सव सञ्चालन गरिएको हो । तुलसीपुरमा साझा सम्पत्ति बहुआयामिक सभाहल निर्माण र टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि तुलसीपुर महोत्सवले महत्वपूर्ण सन्देश दिएको छ ।
सार्वजनिक विकास निर्माणमा व्यवसायीहरुको संस्था तुलसीपुर उद्योग वाणिज्य संघले विगतदेखि चासो दिँदै आएको छ । हामीले हाम्रो लगानीबाट विकासका काम गर्नेभन्दा पनि हामी पुलको काम गरिरहेका छौँ, केही काममा आफै पनि लगानी गरेर सानातिना विकासका काम पनि गरिरहेका छौँ ।
तुलसीपुर–८ दोघरेमा निर्माणाधिन बहुआयामिक सभाहल पनि हामीले विगतमा सञ्चालन गरेको महोत्सवबाट संकलित रकमबाट निर्माण गरिरहेका छौँ ।
अहिले तुलसीपुरकै गौरवको रुपमा रहेको बहुआयामिक सभाहल निर्माणको काम अझै सकिएको छैन् । सभाहल निर्माणको कामले पूर्णता पाउन नसक्नुको कारण नै आर्थिक समस्या हो ।
आर्थिक समस्याका कारण निर्माणको कामले पूर्णता पाउन नसकेपछि केही भएपनि रकम संकलन होला भन्ने उद्देश्यका साथ तुलसीपुर उद्योग वाणिज्य संघले अहिले तुलसीपुर महोत्सव सञ्चालन गरेको हो ।
महोत्सवबाट करिब १ करोड संकलन गर्ने लक्ष्य छ । उक्त रकमले सभाहल निर्माणको कामले पूर्णता पाउने देखिएपनि विमानस्थलको कामले भने उक्त रकम केही पनि होइन्, तर हामीले रकम नै संकलन गर्न नसकेपनि सार्वजनिक चासोको विषयलाई उठान गरिसकेपछि जिल्लाका नेतृत्वमाथि पनि नैतिक दवाव पर्नेछ भन्ने विश्वास छ ।
विषेशगरी जिल्लामा नेतृत्व गर्ने राजनेताहरुले चुनावका समयमा तुलसीपुर टरिगाउँ विमानस्थललाई चुनावको समयमा मात्र प्राथमिकतामा दिने गरेको पाइन्छ । तर अन्य समयमा ओझेलमा पर्ने गरेका कारण पनि हामीले यसलाई प्रमुख विषय बनाएर उठान गरेका छौँ ।
एयरपोर्टको विकासमा लागि संघले चासो देखाएपछि नेतृत्वमाथि पनि नैतिक दवाव परेकोे छ । महोत्सव उद्घाटनको समयमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि अवलोकन गर्नुभयो ।
विमानस्थलको अवलोकनपछि मन्त्री भट्टराईले पनि स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ । उहाँले गरेका प्रतिवद्धना कार्यान्वयनका लागि उद्योग वाणिज्य संघ निरन्तर रुपमा लागिरहने छ ।
अहिले पनि विभिन्न नेतृत्वमाथि नै तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न सार्वजनिक सरोकारका विषयमा छलफल, बहस गर्ने गरिरहेको छ । यसैको एउटा उदाहरण नै तुलसीपुर महोत्सव हो ।
महोत्सवबाट पनि विमानस्थलको स्तरोन्नतिका लागि एउटा बहस भएको छ । हाम्रा कुरालाई बहसमा ल्याइदिने मिडिया पनि हो, मिडियाले अहिले तुलसीपुरको टरिगाउँ विमानस्थलको विषयलाई प्राथमिकताका साथ उठान गरिसकेपछि अहिले बहसको विषय बनेको छ । अब विमानस्थलको स्तरोन्नतिले पक्कै पनि पूर्णता पाउने छ भन्ने विश्वास लिएका छौँ ।
महोत्सवले नेपाल पर्यटन वर्षलाई प्रवद्र्धन गर्नका लागि पनि महत्वपूर्ण साथ दिएको छ । तुलसीपुरमात्र नभएर जिल्लामा रहेका पर्यटकीयस्थलको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तुलसीपुरमा ‘घुम्न जाउँ तुलसीपुर’ अभियान सञ्चालन भइरहेको अवस्थामा यसलाई पनि थप टेवा पुगेको छ ।
हामीले सञ्चालन गर्ने मेला महोत्सवले विभिन्न किसिमका उद्देश्य बोकेका हुन्छन् । यसपटकको महोत्सवले पनि टरिगाउँ विमानस्थलमा ठूलो जहाज अवतरण गराउनेदेखि बहुआयामिक सभाहल निर्माणको कामलाई पूर्णता दिन आर्थिक तथा नैतिक रुपमा सहयोग पुग्ने देखिन्छ ।
हाम्रो अभियानमा यहाँका आम सबैको साथ र सहयोग पाएका छौँ । आगामी दिनमा पनि सार्वजनिक विकासका लागि सबैको साथ र सहयोगको आवश्यक छ ।


विकासका सम्भावनालाई साकार पारिने

रामप्रसाद चालिसे
वरिष्ठ उपाध्यक्ष
तुलसीपुर उद्योग वाणिज्य संघ

सन् २०२० लाई सरकारले पर्यटन वर्ष घोषणा गरेको छ । सरकारको अभियानलाई सफल बनाउनसँगै हामीले विशेषगरी दोघरेमा निर्माणाधिन सभाहलको निर्माण सम्पन्न गर्नका लागि तुलसीपुर महोत्सव सञ्चालन गरेका हौँ । त्यसैगरी दाङबासीको ठूलो जहाज चढ्ने सपना छ ।
ठूलो जहाज चढ्ने नागरिकको सपनालाई कसरी पूरा गर्न सकिन्छ ? भनेर तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेको हो ।
महोत्सवबाट संकलन भएको रकमले तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तोरन्नति गरी ठूलो जहाज बसाउने हाम्रो सपनाभन्दा पनि योजना हो ।
अहिले तुलसीपुरमा तुलसीपुर महोत्सव सञ्चालन गरिसकेपछि मात्रै नभएर पहिले पनि टरिगाउँ विमानस्थलको विकास, स्तरोन्नतिका लागि हामीले विभिन्न समयमा पहल गरिरहेका छौँ ।
तुलसीपुर उद्योग वाणिज्य संघ एउटा व्यापारिक संस्था भएका कारण पनि यहाँको आर्थिक समृद्धिसँगै विकासका सम्भावनालाई साकार पार्न हामी निरन्तर छौँ ।
अहिले टड्कारो आवश्यकता भनेको तुलसीपुरमा बहुआयामिक सभाहल निर्माण र टरिगाउँको विमानस्थलको स्तरोन्नति गर्नु हो । टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि महोत्सव सञ्चालन गर्नुको अर्को उद्देश्य के हो भने सरकारलाई नैतिक दवाव पनि हो ।
किनभने महोत्सवबाट संकलन गरेको आर्थिकले मात्र विमानस्थलको स्तरोन्नति सम्भव हुने कुरा भएन् । यसको लागि जुन अहिले विभिन्न माध्यमबाट तुलसीपुरको टरिगाउँ विमानस्थलको चर्चा चलेको छ ।
यो भनेको नै सरकारलाई एउटा नैतिक दबाव हो । महोत्सव उद्घाटन गर्न आउनुभएका पर्यटन मन्त्रीलाई टरिगाउँ विमानस्थलको आवश्यकतासहितको हस्ताक्षर संकलन गरेर मन्त्रीलाई बुझाएका छौँ । दङ्गालीका लागि टरिगाउँ विमानस्थलको विकास महत्वपूर्ण कुरा हो भनेर मन्त्रीज्यूलाई एक किसिमको नैतिक दबाव परेको छ ।
पर्यटन मन्त्री योगेश भट्टराई आफैपनि विमानस्थलमा पुगेर अवलोकन गरिसकेपछि विमानस्थलको स्तरोन्नति गर्न आफूले कुनै किसिमको कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसकारण पनि महोत्सवको एउटा निकै सकारात्मक कुरा हो । विमानस्थलमा सानो हुँदा दङ्गालीले सास्ती पाएका छन् । ठूला जहाज बस्न नसक्ने अवस्थामा हामीले यसको स्तरोन्नति गर्नुपर्छ भनेर महोत्सवमार्फत तीनैतहका सरकारलाई एक किसिमको सन्देश दिएका छौँ । विमानस्थलमा जग्गा पनि कुनै किसिमको समस्या छैन् ।
जग्गा पनि प्रशस्त भएका कारण विमानस्थल स्तरोन्नतिका लागि अब इच्छाशक्ति र बजेट भए पुग्छ । विमानस्थलको स्तोन्नतिका लागि अहिले पनि केही बजेट विनियोजन भइसकेको अवस्था छ । जतिसक्दो छिटोभन्दा छिटो बजेट कार्यान्वयनका लागि नागरिकस्तरबाट दबावको खाँचो छ ।
हामीले नगरे कसले गर्ने ? भन्ने उद्देश्यका साथ तुलसीपुर उद्योग वाणिज्य संघ यहाँको विकासका लागि निरन्तर लागिरहेको छ । हाम्रो कुनै किसिमको व्यक्तिगत स्वार्थ छैन् ।
महोत्सवबाट संकलन भएको रकम तुलसीपुर अर्थात् दाङकै विकासका लागि खर्च हुने कुरा पनि म यहाँको मिडिमार्फत नै प्रतिवद्धता गर्दछु । हामीले विगतमा पनि यस्ता किसिमका मेला महोत्सव सञ्चालन गरि स्थानीयस्तरको विकास निर्माणमा ठूलो सहयोग गरेका छौँ ।
यसअघि सञ्चालन भएको महोत्सवले दोघरेमा बहुआयामिक सभाहल निर्माण गरिरहेका छौँ । काम गर्दै जाँदा बजेटको समस्या देखिएपछि अहिले फेरि महोत्सव सञ्चालन गर्नुपरेको हो । हामीले निर्माण थालेको सभाहल निर्माण सम्पन्न भएमा कम्तिमा विभिन्न किसिमका राष्ट्रियस्तरका कार्यक्रम गर्न सहज हुनेछ ।
निर्माणाधिन सभाहलमा कम्तिमा पनि एक हजार जना अट्ने क्षमता छ । सभाहलको निर्माण करिब अन्तिम चरणमा छ, अहिले अब करिब १० प्रतिशत काम गर्न बाँकी छ ।
ति कामलाई पूर्णता दिनका लागि उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेको हो । संकलन भएको रकमले तुलसीपुरकै विकास निर्माणमा सहजता ल्याउने छ ।
यहाँका नागरिकले नै एक किसिमको परिवर्तन पाउनुहुनेछ । विकासमा सरकार एक्लै अथवा नागरिक एक्लैलै सम्भव छैन् । सरकारको अभियानमा नागरिकस्तरबाट पनि सहयोग र साथ हुन आवश्यक छ ।


सुरक्षा व्यवस्थापनमा प्रत्याभूति

यज्ञबहादुर के.सी.
संयोजक
सुरक्षा व्यवस्थापन उपसमिति

महोत्सवलाई सफल बनाउनका लागि सुरक्षा व्यवस्थापनलाई चुस्त बनाएका छौँ । माघ १० देखि शुरु भएको महोत्सव २० गतेसम्म नै महोत्सवमा आउने दर्शकले सुरक्षित महशुस गर्न पाउने छन् ।
महोत्सव सभ्य र सु्रक्षित बनाउनका लागि ठाउँ–ठाउँमा सिसी क्यामरा जडान गरिएको छ । सिसी क्यामरामार्फत हुन सक्ने अपराधिक क्रियाकलापलाई निगरानी गरिहेका छौँ ।
अहिलेसम्मको अवस्थामा सुरक्षा चुनौती धेरै छैन् र पनि हामीले आफ्नो तर्फबाट हुने कामहरुलाई चुस्तदुरुस्त बनाएका छौँ । महोत्सवमा आउने दर्शकले सुरक्षित महशुस गरिरहेका छन् । मेला महोत्सवमा हुन सक्ने विभिन्न किसिमका अवान्छित गतिविधि हुनसक्छ भनेर नै विभिन्न सुरक्षा सर्तकता अपनाइएको छ ।
तुलसीपुर महोत्सव अहिले तीन सुरक्षा घेरामा सञ्चालन भइरहेको छ । महोत्सव स्टलमा रातको समयमा हुनसक्ने गतिविधिलाई निस्तेज पार्नका लागि पनि हामीले सशस्त्र, नेपाल प्रहरी परिचालन गरेका छौँ, व्यवसायीहरुले पनि सुरक्षित महशुस गर्नुभएको छ ।
महोत्सवलाई व्यवस्थित गरेर दर्शकको जतिसक्दो उल्लेख्य सहभागिता बढाउनका लागि हामी निरन्तर लागि रहेका छौँ । दर्शकको सहभागिताले नै आर्थिक कारोबार बढ्ने हो । त्यसकारण पनि महोत्सवलाई व्यवस्थित बनाएका छौँ ।
महोत्सव सफलरुपमा सम्पन्न गरी करिब १ करोड बचत संकलन गर्ने लक्ष्य छ । हाम्रो त्यो उद्देश्यमा पुग्नका लागि हामीहरु विभिन्न उपसमितिले आ–आफ्नो पाटोलाई व्यवस्थित बनाउने हो । मैले मेरो सुरक्षा व्यवस्थापनालाई चुस्त बनाएको छु ।


उद्देश्य प्राप्तिका लागि प्रयास

रुपबहादुर खत्री
महासचिव
तुलसीपुर उद्योग वाणिज्य संघ

तुलसीपुर महोत्सव विषेशगरी तीन मुख्य उद्देश्यका साथ सञ्चालन भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवबाट संकलन भएको बहुआयामिक सभाहल निर्माणलाई पूर्णता दिन, टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि र पर्यटन प्रवद्र्धनका लागि महोत्सव सञ्चालन भएको हो ।
महोत्सव सञ्चालन भइसकेपछि अहिलेसम्मको उत्साहजनक सहभागिताले महोत्सव सफल हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ । महोत्सवमा दैनिकजसो सहभागी हुने हजारौँ दर्शकले लाखौँको कारोबार भएको छ ।
महोत्सवमा भएको कारोवारले पनि हामी लक्ष्यमा पुग्छौँ भन्ने हो । विषेशगरी सभाहल निर्माणको कामले पूर्णता पाउने नै छ र टरिगाउँ विमानस्थलको विकासको लागि केही नैतिक दवाव सिर्जना हुनेछ ।
हामीले महोत्सवबाट संकलन गर्ने रकमले लिएका उद्देश्य सबै पूरा हुन्छन् भन्ने त होइन् तर पनि ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ भनेजस्तै हामीले उद्देश्य ठूलो लिएका छौँ ।
तुलसीपुर महोत्सवमा लिएका उद्देश्य छन् जुन बहसमा आइसकेपछि पक्कै पनि विभिन्न पूर्णता पाउने छन् । लामो समयदेखि सञ्चालन हुँदै रोकिदै गरेको टरिगाउँ विमानस्थलको स्तरोन्नति हुन नसक्दा आम दङ्गालीबासीले भोग्नुपरेको समस्यालाई समाधान गर्नका लागि हामी व्यवसायीहरु लागिरहेका छौँ ।
तुलसीपुरमा ४८ सिटे जहाज अवतरण गर्ने दङ्गालीको चाहनालाई साकार बनाउनलाई तुलसीपुर महोत्सव सञ्चालनमा आएको हो । महोत्सव सञ्चालन भइसकेपछि टरिगाउँ विमानस्थलको चर्चा र बहस हुने गरेको छ ।
विमानस्थल सानो र इन्धन डिपो स्थापना हुन नसक्दा अहिले पनि जहाज नियमित अवतरण हुन सकिरहेको छैन् । हवाईयात्रा गर्ने दङ्गालीको चाहना अझै पनि पूरा हुन नसकिरहेको अवस्थामा तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवमार्फत महान अभियान सञ्चालन गरेको हो ।
विमानस्थलको स्तरोन्नतिका लागि विभिन्न समयमा चर्चा हुने गरेपनि सार्थक बन्न सकिरहेको छैन् । यस्तो अवस्थामा संघले तुलसीपुर महोत्सव सञ्चालन गरेर विमानस्थल विकास गर्ने कुरा चर्चामा आएको छ ।
यसले पनि सम्बन्धित विभिन्न सरोकारवालाको ध्यान केन्द्रित गरेको छ । महोत्सव हामी सबैको आर्थिक समृद्धिका लागि हो भनेर अहिले पनि विभिन्न व्यक्ति तथा सामाजिक संघ संस्थाको महत्वपूर्ण साथ रहेको छ । यसले पनि हामीले लिएको उद्देश्य प्राप्त गर्न सहज भन्ने ठानेका छौँ । हाम्रो प्रयासमा सबैको साथ जरुरी छ ।
तुलसीपुरमात्र नभई दाङकै गौरवको रुपमा रहेको टरिगाउँ विमानस्थल स्तरोन्नति गर्न सकेमा जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्छ ।
विमानस्थल कमजोर र सानो हुँदा नियमित जहाज अवतरण हुन सकेका छैनन् जसले गर्दा दाङ भित्रिने पर्यटक आउन सकिरहेका छैनन् ।
जिल्लामा ठूलो जहाज अवतरण गराउन सकेमा यहाँको आर्थिक समृद्धिमा ठूलो परिवर्तन आउने देखिन्छ । यसकै लागि पनि हामीले टरिगाउँ विमानस्थलको स्तरोन्नति हुनुपर्छ भनेर लागेका छौँ ।
उद्योग वाणिज्य संघको महान अभियानमा विभिन्न निजी क्षेत्रबाट पनि महत्वपूर्ण साथ रहेको छ । बहुआयामिक सभाहल निर्माण गर्नका लागि पनि विभिन्न व्यक्तिको महत्वपूर्ण साथ रहेको छ ।
अहिले पनि सहयोग निरन्तर जारी रहेको छ । टरिगाउँ विमानस्थलको विकास लागि संघले थालेको अभियान पनि सार्थक बनाउन सबै सरोकारवालाको साथ महत्वपूर्ण हुनेछ ।
महोत्सवलाई भव्यरुपमा सफल हुनु नै जिल्लाको आर्थिक विकास हुनु हो । त्यसैले पनि हाम्रो अभियानलाई सफल बनाई दिनहुन सबैमा हार्दिक अनुरोध गर्दछु । सार्वजनिक महत्वको विकासमा संघले थालेको अभियान निष्कर्षमा पु¥याउनका लागि आर्थिक पक्ष पनि बलियो हुनुपर्छ ।
आर्थिक पक्षलाई बलियो बनाउनका लागि पर्यटन प्रवद्र्धन पनि महत्वपूर्ण भाग भएकाले पनि पर्यटन प्रवद्र्धन गर्नका लागि पनि महोत्सव सञ्चालन भएको छ । अहिले विषेशगरी ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई सफल बनाउन महोत्सवको प्रमुख उद्देश्य हो ।


आर्थिक र सामाजिक परिवर्तन गर्छौ

डिल्लीबहादुर वली
कोषाध्यक्ष
तुलसीपुर उद्योग वाणिज्य संघ

दाङको आर्थिक तथा सामाजिक विकासका लागि मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले पनि बिगत लामो समयदेखि महोत्सव सञ्चालन गर्दै आएको छ, जसले गर्दा यहाँको आर्थिक विकासका लागि महत्वपूर्ण टेवा पुगेको छ ।
विभिन्न समयमा सञ्चालन भएका महोत्सवले विभिन्न उद्देश्य बोकेका हुन्छन्, यसपालि पनि ठूला र महत्वकांक्षी योजनालाई सफल बनाउन तुलसीपुर महोत्सव सञ्चालन गरिएको छ ।
तुलसीपुर महोत्सवमार्फत जिल्लाको पर्यटकीय प्रवद्र्धनका साथै सभाहल निर्माणलाई पूर्णता दिने र टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्नु प्रमुख उद्देश्य हो ।
उद्देश्य ठूला भएका कारण पनि आर्थिक भने जति संकलन गर्न त नसकिएला तर हामीले वहसमा ल्याएका विषयलाई पूर्णता दिनका लागि सरकारलाई नैतिक दबाव सिर्जना हुनेछ ।
तुलसीपुरको आर्थिक समृद्धिका लागि मेला महोत्सवमात्रै भन्दा पनि हामीले लिएका उद्देश्य पूरा गर्न सक्नुपर्छ । ठूला–ठूला राष्ट्रियस्तरका कार्यक्रम गर्नका लागि बहुआयामिक सभाहल निर्माण र विमान सेवालाई नियमित गर्न सक्नुपर्छ ।
नियमितसँगै ठूला जहाज अवतरण गर्नका लागि विमानस्थलको स्तरोन्नति गर्नुपर्छ भनेर नै हामीले महान साझा उद्देश्यका साथ महोत्सव सञ्चालन गरेका हौँ । विमानस्थलको आवश्यकतालाई महसुस गरेर हामीले तुलसीपुर महोत्सव सञ्चालन गरेका हौँ ।
सरकारीस्तरबाट भएका प्रयास अझै पनि सार्थक बन्न सकिरहेका छैनन् । हामीले निजीस्तरबाट नैतिक दबावका लागि पनि महोत्सव सञ्चालन गरेका हौँ ।
तुलसीपुरको विमानस्थललाई विकासका लागि तीनैतहका सरकारले प्रयास थाल्न जरुरी छ । यसका लागि हामी निरन्तर खबरदारीको अभियान सञ्चालन गरिरहने छौँ ।
व्यवसायीहरुको अभियानलाई सबैले साझा अभियानका रुपमा लैजान आवश्यक छ । जसले गर्दा जतिसक्दो छिटो हामी दाङको विकास गर्न सक्छौँ । अनि अहिले सरकारले पर्यटन वर्ष घोषणा गरिसकेपछि अभियानलाई सफल बनाउन महोत्सवले अर्को महत्वपूर्ण भूमिका खेल्नेछ ।


सहज यातायातको व्यवस्था

सुरेश हमाल
संयोजक
यातायात व्यवस्थापन उपसमिति

तुलसीपुर महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता गराउन यातायात व्यवस्थापन पनि प्रमुख पाटो हो । तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेर जुन २/३ वटा उद्देश्य बोकेको छ, त्यो उद्देश्यमा पुग्नलाई त सर्वप्रथमतः महोत्सव सफल हुनुप¥यो । महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता गराएर आर्थिक कारोबार बढाई संघले बचतमा लिएको लक्ष्यलाई सफल बनाउन अहिले महोत्सवमा हामीले विभिन्न उपसमिति लागिरहेका छौँ ।
मैले पनि यातायात व्यवस्थापन उपसमितिको हैसियतले तुलसीपुर महोत्सवमा दर्शकहरुलाई महोत्सवस्थलसम्म आउन र जानका लागि नगरबस सञ्चालनलाई व्यवस्थित गरेको छ । नगरबसमा हामीले तोकेको स्थानमा जहाँबाट चढ्दा, ओर्लिदा पनि १० रुपैयाँ मात्र लाग्छ ।
हामीले यातायात व्यवस्थापन सहज बनाएका कारण पनि महोत्सवमा दैनिकजसो दर्शकको संख्या बढ्दै गएको पाइन्छ । महोत्सवमा दर्शकको संख्या बढ्नु नै कारोबार बढ्नु हो । कारोबार बढेसँगै हामी आफ्नो उद्देश्य र लक्ष्यमा पुग्छौँ भन्ने विश्वास लागेको छ ।
महोत्सवलाई सफल बनाएर तुलसीपुरको विकास निर्माणमा नै महोत्सबाट संकलित रकम लगाउने छौँ । बितेका वर्षमा सञ्चालन भएका महोत्सवले तुलसीपुरमा बहुआयामिक सभाहल निर्माणको काम भइरहेको छ ।
आर्थिक समस्याका कारण बहुआयामिक सभाहल निर्माणले पूर्णता पाउन नसकेपछि अहिले महोत्सव सञ्चालन गरिएको हो । महोत्सबाट संकलित रकमले सभाहल निर्माणको काम पूरा हुनेछ भन्ने विश्वास लिएका छौँ ।
महोत्सवबाट संकलित केही रकम तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नति पनि हुनेछ भन्ने विश्वास लिएका छौँ । टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि महोत्सवबाट संकलन गरिएको रकम पर्याप्त त नहोला तर हामीले थालेको अभियानले विमानस्थलको स्तरोन्नतिका लागि नैतिक दबाव भने सिर्जना भएको छ ।
तुलसीपुर महोत्सव कुनै व्यक्तिगत स्वार्थ पूर्तिका लागि सञ्चालन गरिएको होइन्, तुलसीपुरको विकासमा थप टेवा पुगोस् भनेर नै हामीले महोत्सव सञ्चालनको अवधारणा लिएका हौँ ।
समस्या र चुनौतीको सामाना गर्दै पनि तुलसीपुर महोत्सवलाई भव्य र सभ्यरुपमा सफल बनाउने छौँ । महोत्सवमार्फत तुलसीपुरको मात्र नभएर समग्र दाङको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्नेछ ।
हामीले पनि पर्यटन प्रवद्र्धनका लागि दाङमा प्रमुख पर्यटकीयस्थलको तस्विरसहितका स्टिकर बसहरुमा टाँगेर पर्यटन वर्षलाई सफल बनाउने छौँ । जिल्लाको पर्यटन प्रवद्र्धन हुनु भनेको नै यहाँको आर्थिक समृद्धि हुनु हो ।
जिल्लाको आर्थिक समृद्धिले नै विकास निर्माणका काम अघि बढ्ने हुन् । महोत्सव सञ्चालन भइसकेपछि सबैको ध्यान तुलसीपुरमा तानिएको छ । महोत्सवमा आउने दर्शकले सकेसम्म कुनै पनि किसिमको समस्या भोग्नुपर्दैन् ।
हामीले यातायात व्यवस्थापनदेखि हरेक कुरालाई चुस्त बनाएका छौँ, जसले गर्दा पनि महोत्सव सफल हुन्छ र संघले लिएको लक्ष्य पूरा हुनेछ ।
आर्थिक पाटोलाई सफल र सक्षम बनाउन व्यवसायको बजारीकरण र प्रवद्र्धन हुन आवश्यक छ । तुलसीपुर महोत्सवले व्यवसायको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ जस्तो लाग्छ ।
यसले जिल्लाको आर्थिक पाटोलाई झनै सक्षम बनाउँदै लैजाने देखिन्छ । तुलसीपुर उद्योग वाणिज्य संघमा सक्षम र सवल नेतृत्व भएका कारण पनि अहिले तुलसीपुरको व्यवसायको बजारीकरण राम्रो भएको छ ।
संघले सम्भव हुने १/२ वटा ठूला योजना बोकेर महोत्सव सञ्चालन गरिसकेपछि अहिले महोत्सवबाट जति सक्यो धेरै आर्थिक संकलन गर्नु नै मुख्य हो ।
लक्ष्यमा पुग्नेभन्दा पनि लक्ष्यभन्दा धेरै बचत संकलन गर्नुपर्छ भनेर नै हामीले आवश्यकभन्दा बढी खर्च नगरी खर्च व्यवस्थापन गरेका छौँ । महोत्सवबाट जतिसक्दो धेरै बचत संकलन गरेर बहुआयामिक सभाहलको निर्माण गर्ने र टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्नु प्रमुख विषय हो ।
हाम्रो अभियानमा नागरिकसँगै सरोकारवालाको साथ पनि उत्तिकै आवश्यक छ । सरकारले पनि निजीस्तरबाट प्रयास थालिएका सार्वजनिक विकासमा साथ दिनुपर्छ ।


संस्कृति जर्गेनामा टेवा

ललितजंग शाह
संयोजक
साँस्कृतिक व्यवस्थापन उपसमिति

कुनै पनि मेला महोत्सवमा सफल हुनलाई साँस्कृतिक कार्यक्रम महत्वपूर्ण भाग हो । किनभने साँस्कृतिक कार्यक्रमले नै महोत्सवको शोभा बढाएको हुन्छ ।
महोत्सवमा आउने दर्शक पनि अधिकांश साँस्कृतिक कार्यक्रम हेर्नका लागि महोत्सवमा आउने गर्नुहुन्छ, यो कुरा यहाँलाई पनि जानकारी नै छ ।
तुलसीपुर उद्योग वाणिज्य संघले जुन दुईवटा उद्देश्य बोकेर महोत्सव सञ्चालन गरेको छ । हामी उद्देश्यमा पुग्छौँ भन्ने अहिले दर्शकको भिडले देखाइसकेको छ ।
महोत्सव सञ्चालन भएको चौथो दिनसम्म दर्शकको उपस्थिति उल्लेख्य रहेको छ । महोत्सवबाट हामीले संकलन गरेको रकमले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलको विकास र निर्माणाधिन बहुआयामिक सभाहल निर्माणका लागि एउटा ठूलो सहयोग हुनेछ ।
महोत्सव सञ्चालन गर्नुको दोस्रो कारण बहुआयामिक सभाहल निर्माणका लागि पनि हो । आर्थिक अभावका कारण निर्माणाधिन सभाहल अहिले पनि अलपत्र अवस्थामा पुगेको छ ।
अब महोत्सवबाट संकलन भएको रकमले सभाहल निर्माणको कामले पूर्णता पाउनेछ भन्ने हामीले अठोट र प्रण गरेका छौँ । तुलसीपुर महोत्सवले पर्यटन प्रवद्र्धन पनि गरेको छ ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन तुलसीपुर महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ । अहिले तुलसीपुरमा ‘घुम्न जाउँ तुलसीपुर’ अभियान सञ्चालन गरिएको छ । यसको प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।
तुलसीपुर उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक विकासको लागि लामो समयदेखि निरन्तर लागिरहेको छ । आर्थिक पक्षसँग प्रत्यक्ष जोडिएको व्यवसायीहरुको संस्था भएका कारण आर्थिक विकासका कुरालाई जोडतोडका साथ काम गरिरहेको छ ।
अहिले सञ्चालन भएको तुलसीपुर महोत्सवबाट पनि संस्थागत विकासका लागि हामीले आर्थिक पाटोलाई बलियो बनाउँछौँ भन्ने लागेका छौँ ।
महोत्सवमा दैनिकजसो राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारले साँस्कृतिक मनोरञ्जन प्रदान गरिरहदा दर्शकको संख्या बढ्दै गएको छ । यसकारण पनि हामी लक्ष्य र उद्देश्यमा पुग्नका लागि कुनै असहज छैन् ।
विगतका वर्षहरुमा महोत्सवस्थल सानो भएका कारण पनि कतिपय अवस्थामा सोचअनुरुप दर्शक भित्र्याउन सक्ने अवस्था हुँदैन् थियो तर अहिले त्यस्तो समस्यामा हामी छैनौँ ।
हामीसँग प्रशस्त खुल्ला मैदान भएका कारण पनि महोत्सवमा हजारौँको संख्यामा दर्शकको सहभागिता गराउन सकिन्छ । महोत्सवमा दर्शक बढ्नु नै कारोबार बढ्नु हो र कारोबार बढेपछि स्वभाविक रुपमा हामीले सोचेको गन्तव्यमा हामी पुग्छौँ ।


खेलक्षेत्र पनि चिनाउँदैछौं

हेमेन्द्र खड्का
संयोजक
खेलकुद व्यवस्थापन उपसमिति

दाङको आर्थिक विकासका लागि खेलकुदको विकास हुनुपर्छ । तुलसीपुर महोत्सवमार्फत पनि खेलाडी उत्साह बढाएर खेल क्षेत्रलाई सशक्त बनाउन हामीले खेलकुदलाई प्राथमिकता दिएका छौँ ।
हामीले शनिबार ११ माघ, महोत्सवको दोस्रो दिन तुलसीपुरदेखि पुरन्धारा छहरासम्म साइकल यात्रा गरेका छौँ । यसले पनि पर्यटन प्रवद्र्धनमा थप सहयोग पुगेको छ ।
किनभने साइकलमार्फत पुरन्धारा पुग्दा खेरी पश्चिम दाङको अवलोकन पनि राम्रो भएको छ र पुरन्धारा छहराको त झनै प्रवद्र्धन भएको छ ।
पुरन्धारा छहरासँगै दंगीशरण–३ चखौरामा रहेको थारु संग्रालयको पनि अवोलकन गर्ने अवसर जुटेको छ । महोत्सका विभिन्न उद्देश्य होलान् तर निष्कर्षमा पुग्ने भनेको त आर्थिक परिवर्तन गर्नुनै हो ।
बन्न लागेको बहुआयामिक सभाहलको पूर्णता दिन होस्, या टरिगाउँ विमानस्थलको स्तरोन्नति गरेर ठूलो विमान ल्याउने किन नहोस्, यसले जिल्लाको आर्थिक पक्षलाई बलियो बनाउने छ ।
दक्षिण एसियाकै दोस्रो ठूलो उपत्यकाको रुपमा रहेको दाङ उपत्यकमा सम्भावना र अवसरहरु थुप्रै भएपनि हामीले चिन्न नसकिरहेको अवस्थामा तुलसीपुर महोत्सवले एउटा वातावरण निर्माण गरेको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धनदेखि कृषि तथा पशु व्यवसायको प्रवद्र्धनमा पनि महोत्सवले ठूलो भूमिका खेल्नेछ । त्यस्तै दाङमा पनि खेलकुदका सम्भावना भएकाले पनि जिल्लामा खेलकुदका संरचना निर्माण गरी विभिन्न किसिमका खेलकुदका कार्यक्रमको आयोजना गरिनु आवश्यक छ ।
तुलसीपुरमै रहेको अन्तर्राष्ट्रियस्तरको खेलकुद रंगशालादेखि विभिन्न ठाउँमा निर्माण भएका खेल संरचनाले पनि खेलकुदको विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।
खेलाडी उत्पादनमा तीनैतहका सरकारले लगानी बढाउन पनि आवश्यक छ, यसका लागि पनि महोत्सवमार्फत केही सन्देश जाने छ ।
खेलाडी र खेलक्षेत्रको प्रवद्र्धनका लागि हामीले यही माघ १६ गते जिल्लास्तरीय खुल्ला दौड प्रतियोगिता राखेका छौँ, यसले पनि जिल्लाको खेलकुदको प्रचारप्रसार र विकास हुनेछ भन्ने आशा लिएका छौँ ।
खेलाडी र खेलकुदका लागि अहिलेसम्म भएका प्रयास राम्रै भएपनि सन्तोषजनक अवस्था भने छैन् । महोत्सवमार्फत पनि खेलकुदको विकासका लागि सन्देश दिनुपर्छ भनेर हामीले तुलसीपुर महोत्सवमा खेलकुदका विभिन्न किसिमका कार्यक्रम राखेका छौँ । यसले पनि जिल्लामा खेलकुदको गरिमालाई थप उचाइमा पु¥याएर आर्थिक सशक्तिकरणमा थप सहयोग पुग्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here