सुनचाँदी पसल बन्द
असार ०३, २०७७
प्रदेश टुडे
तुलसीपुर, २ असार । दाङका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालका लागि पसल बन्द गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम भयावह बन्दै गएको भन्दै जिल्लाको घोराही बजारका सम्पूर्ण सुनचाँदीका पसलहरू बन्द हुन लागेका हुन् ।
घोराही क्षेत्रमा कोरोना– भाइरसको जोखिम अत्याधिक जोखिम बढेपछि सुनचाँदी व्यवसायीहरूले असार ३ गते बुधबारदेखि सबै पसलहरू बन्द गर्न लागेको नेपाल सुनचाँदी व्यवसायी समिति घोराहीका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिए ।
‘सुन पसलमा अत्याधिक भिड लाग्ने गर्दछ’ उनले भने– ‘भिडभाड हुने ठाउँमा संक्रमणको जोखिम उच्च हुने भएकाले यस्तो निर्णय गरेका हौँ ।’ समितिले मंगलबार अर्को सूचना नआउँदासम्म पसल बन्द गर्ने निर्णय गरेसँगै पसलहरू बन्द हुने भएका हुन् ।
यसैबीच नेपाल सुनचाँदी व्यवयासी संघ तुलसीपुरले पनि पसलहरू बन्द हुने सम्भावना रहेको बताएको छ । कोरोनाभाइरसको संक्रमण भयावह हुँदै गएमा तुलसीपुर क्षेत्रका सुनचाँदी पसलहरू बन्द हुनसक्ने नेपाल सुनचाँदी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष मदन केसीले बताए । अवस्था जटिल बन्दै गएमा यस क्षेत्रका सुनचाँदी पसलहरू बन्द हुने उनको भनाइ छ ।