योगा भवनको शिलान्यास
असार ०५, २०७६
दंगीशरण, ४ असार । दंगीशरण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिपक गौतमल योग भवनको शिलान्यास गरेका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ५ स्थित सलौरामा निर्माण हुन गईरहेको योग साधना हलको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । अध्यक्ष गौतमले आफै भवनको जग फरुवाले खनेर शिलान्यास गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष गौतमले योग साधनाबाट मानिसको जीवनमा परिवर्तन आउँने भन्दै वडामा योग साधना हल निर्माण गर्नुपर्ने आवश्यक रहेको कुरा बताए ।
उनले मन्दिर नजिकै योग हल भएमा बिहान र साँझको समयमा मानिसहरुलाई योग साधना गर्न सजिलो होस् भन्ने हेतुले यो प्रक्रिया थालिएको बताए ।
१६ मिटर लम्बाई र ५ मिटर चौडाईमा योग साधना हलको निर्माण कार्य बुधबारबाट शुरु भएको छ । यो साधना हलका लागि गाउँपालिकाको ५० हजार बजेट र समुदायबाट १ लाख ५० हजार गरी २ लाखको लागतमा योग भवन निर्माण गर्न थालिएको अध्यक्ष गौतमले बताए । प्रधानमन्त्री रोजगारबाट छानिएका कामदारहरुलाई योग भवन निर्माण कार्यमा खटाईएको छ । भवन एक महिनामा निर्माण कार्य सम्पन्न गरिने बताईएको छ ।
प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप
यसैबीच दंगीशरण गाउँपालिकामा आजदेखि दुईदिने अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप हुने भएको छ । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुका बीचमा प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप हुने छ ।
दंगीशरण गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप हुने भएको हो । अन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा गाउँपालिकाका १५ वटा सामुदायिक विद्यालयका छात्रछात्राहरुले भाग लिनेछन् ।
दुईदिने अतिरिक्त क्रियाकलापमा कक्षा १ देखि ५ सम्मका खेलाडी विद्यार्थीहरुका लागि हिसाब दौड, एक सय मिटर दौड, कुर्सी दौड राखिएको छ भने कक्षा ६ देखि ८ सम्मका खेलाडी विद्यार्थीहरुका लागि हाजिरीजवाफ,
एक सय मिटर दौड, लङ्जम्प , वक्तृत्वकला, हिज्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, निवन्ध लेखन प्रतियोगिता र घैटाफोड प्रतियोगिता राखिएको शिक्षा शाखाका उपप्रमुख अनिल केसीले जनाएका छन् । बिहीबार र शुक्रबार हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको उपप्रमुख केसीले जनाए ।