सन्तुलन र समृद्धिका लागि योग
असार ०८, २०७६
तुलसीपुर, ६ असार । दाङसहित देशभर शुक्रबार पाँचौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेसँगै नेपालमा दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा दाङको घोराहीमा ¥याली, योग अभ्यास र छलफल कार्यक्रम भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीको अध्यक्षता एवं उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
योगा शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योग प्रभावकारी माध्यम भन्दै दाङमा पछिल्लो समय योग अभ्यास गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । कार्यक्रममा सहभागीहरुले योगा र आयुर्वेदलाई सँगसँगै जोडेर स्वास्थ्यमा समृद्ध मुलुक बनाउने उद्घोष समेत गरेका थिए ।
सहभागीहरुले योगा विज्ञानले प्रमाणित गरेको बैकल्पिक स्वास्थ्य उपचारको पाटो भएको भन्दै यसलाई दैनिकी बनाउन आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले योगाले मानव जीवनका हरेक गतिविधिलाई सहयोग पु¥याउने भन्दै यसलाई एउटा नियमित जीवनशैली बनाउन आग्रह गरेका थिए ।
साथै उनले योगा शरीर विज्ञानसँग पनि जोडिएकाले मानव शरीरमा हुने हरेकखाले विसंगतिलाइ विसर्जन गर्न योगा अपरिहार्य भएको पनि बताए ।
मान्छे सुविधाभोगी हुँदै गएको अवस्थामा शारीरिक तथा मानसिक अभ्यासहरुमा ध्यान कम दिने अवस्थाले अहिले मानव शरीरमा धेरै विकृतिहरु देखापर्दै आएका छन् ।
मानव इन्द्रीयहरुमा फरक–फरक आक्रमणहरु भैरहेको पनि यसकै कारण भएको भन्दै योगाले एउटा स्वास्थ्य उपचारमा पनि तरंग ल्याएको छ । पतञ्जली योग समितिको पाठ्यक्रममा भएका ७९ प्रकारका विभिन्न प्रणायम र अभ्यास यसैमा केन्द्रित रहेका छन् ।
आधुनिक स्वास्थ्य विज्ञानले उपचार सम्भव नभएको भनिएका विभिन्न रोगहरु पनि योगाभ्यासका कारण निरोध हुने अवस्थामा छन् । अर्थात दीर्घ जीवनका लागि योगले धेरै सहयोगी भूमिका निर्वाह गरेको आधुनिक स्वास्थ्य विज्ञानका अध्येताहरुले पनि स्वीकार गरिसकेका छन् ।
संयुक्त राष्ट्रसंघले योगालाई वैकल्पिक स्वास्थ्य उपचारका रुपमा स्वीकार गरेपछि नेपाल सरकारले पनि स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको माताहतमा योगालाई वैकल्पिक उपचारका रुपमा ग्रहण गरिसकेको छ ।
साथै योग एवं आयुर्वेद उपचारका लागि केही बजेट यहि बर्ष विनियोजनसमेत गरेको छ । जुन बजेट मुलुकका विभिन्न स्थानमा योगाहल निर्माण गर्न र योग शिविरहरु सञ्चालन गर्न केन्द्रित हुने छन् ।
शारीरिक अभ्यासका कारण नसाका रोग, हाडजोर्नीका रोग तथा अन्य समस्या समाधान हुन सक्ने अवस्था प्रमाणित भएको छ भने सुक्ष्म व्यायाम र प्रणायमका कारण मानव शरीरका भित्री ग्रन्थीका समस्या समेत समाधान भैरहेका छन् ।
मानसिक तनावको व्यवस्थापनदेखि मानव शरीरका हरेक ग्रन्थी प्रणालीलाई सक्रिय बनाउन पनि योगा विज्ञान प्रमाणित जस्तै भएको छ ।
समय, विधि र संकल्पले योग अभ्यासमा लागेका केही व्यक्तिहरुले क्यान्सर जस्तो प्राणघातक रोगबाट समेत उन्मुक्ति पाइसकेका छन् । साथै निरन्तर रुपमा औषधि सेवन गर्नुपर्ने अवस्थाका क्रोनिक रोगहरुसमेत योगाका कारण सञ्चो भएका छन् ।
सरुवा रोगका विषयमा धेरै अनुसन्धानहरु आधुनिक स्वास्थ्य विज्ञानले गरिसकेको छ । अहिले हरेकखाले सरुवा रोगहरु नियन्त्रणमा ल्याउन औषधि बनिसकेका छन् । तर नसर्ने खालका दीर्घरोगहरु अहिलेको अवस्थामा मृत्युको शिकारसमेत बन्न थालेका छन् ।
खानपानमा लापरवाहीका कारण पनि धेरै दीर्घरोगीहरु बन्ने गरेको सन्दर्भमा योगाले यसलाई सन्तुलनमा ल्याउने अभ्यास थालेको छ ।
मानव शरीरमा जुनसुकै प्रकारको तत्व बढिपरेमा त्यसले नकारात्मक असर देखाउँछ ।
क्याल्सियम बढी सेवन गरेमा पत्थरीको समस्या, प्रोटिन बढी लिएको अवस्थामा युरिक एसिडको समस्या त कार्वोहाइड्रेड बढि लिएको अवस्थामा मोटोपनको समस्याका कारण मान्छेहरु थलिने अवस्था आएको छ ।
यी सबै समस्याको व्यवस्थापनमा पनि योगा एउटा स्वास्थ्य सुत्र प्रमाणित भैसकेको छ । ‘योग साधकहरु भन्छन्, विधि र संकल्पले गरे योगाले एक दिनमै नतिजा दिएको अनुभूति गरेका छौ ।’