Thursday, March 28, 2024
Homeफिचरकोभिड–१९ बारे अझै थाहा नभएका कुरा के हुन् ?

कोभिड–१९ बारे अझै थाहा नभएका कुरा के हुन् ?

- Advertisement -spot_img

जेम्स ग्यालहर
कोरोना भाइरस

वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ । त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ । तीमध्ये महत्वपूर्ण प्रश्नहरू यी हुन्ः–

१. कति मानिस संक्रमित भएका छन् ?

यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो । तर यो निकै महत्वपूर्ण पनि छ । विश्वभरि लाखौँ मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तथ्यांकमा देखिने वा पुष्टि भएका मानिसको संख्याले वास्तविक संक्रमणको प्रतिनिधित्व गर्दैन ।

त्यो संख्या अझै अपूर्ण किन छ भने संक्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन् । मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्नसके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ । त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ ।

२. यो कति घातक छ

कति मानिसलाई संक्रमण भएको छ भन्ने तथ्य थाहा नभईकन मृत्युदर थाहा हुन सक्दैन । अहिलेसम्म विश्वमा संक्रमण भएका झन्डै एक प्रतिशत मानिसको मृत्यु हुने अनुमान गरिएको छ । तर यदि लक्षणै नदेखिएका संक्रमितहरूको संख्या धेरै छ भने मृत्युदर अझै बढी हुन सक्छ ।

३. कोरोनाभाइरसका लक्षणहरू

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस संक्रमणका मुख्य लक्षण हुन् । तपाईँ यी लक्षणबारे सतर्क हुनुपर्छ । केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा सुँघ्ने लिने क्षमतामा कमी आएको पनि पाइएको छ ।

विभिन्न अध्ययनले देखाएअनुसार केही मानिसहरूलाई संक्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन । उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ ।

४. भाइरस फैलाउनमा बालबालिकाको भूमिका

केटाकेटीहरूले पक्कै पनि भाइरस समात्न सक्छन् र तिनलाई अरू व्यक्तिमा सार्न सक्छन् । प्रायः बालबालिकामा सामान्य लक्षण देखिन्छ । अन्य उमेर समूहका मानिसको भन्दा बच्चाहरूको मृत्युदर निकै कम रहेको छ ।

प्रायः खेल मैदानमा रमाउने बच्चाहरू स्वभावैले धेरै मानिससँग घुलमिल गर्छन् । उनीहरूले यो भाइरस निकै छिटोछिटो धेरै मानिसमा फैलाउन सक्ने हुनाले उनीहरूलाई ‘सुपर–स्प्रेडर’ मानिएको छ । त्यस्तो जोखिम हुने भए पनि केटाकेटीले त्यो भाइरस कतिसम्म फैलाउन सक्छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

५. यो भाइरस कहाँबाट आयो

यो भाइरस सन् २०१९ को अन्त्यतिर मध्यचीनको वुहानमा पहिलो पटक देखिएको थियो । त्यहाँ पशुपंक्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको संक्रमण देखिएको थियो ।

औपचारिक रूपमा सार्स–कोभ–२ (Sars-CoV-2) नाम दिइएको कोरोनाभाइरस चमेराहरूलाई संक्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ ।

त्यो भाइरस चमेराबाट कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको विश्वास गरिएको छ । त्यो अज्ञात जनावर प्रष्ट भइसकेको छैन । त्यो थप संक्रमणको कारक पनि बन्न सक्छ ।

६. के गर्मी याममा संक्रमण कम होला

फ्लू वा रूघाजस्ता रोग गर्मी महिनामा भन्दा जाडो महिनामा बढी देखिने गर्छन् । तर न्यानो हावापानीमा यो भाइरस फैलिने क्रममा कमी आउँछ कि आउँदैन भन्ने अझै प्रष्ट भइसकेको छैन । ब्रिटेन सरकारका विज्ञान सल्लाहकारहरूले कोरोनाभाइरस संक्रमणमा मौसमी प्रभाव हुन्छ कि हुँदैन भन्नेबारे प्रष्ट नभइसकेको चेतावनी दिएका छन् ।

उनीहरूका विचारमा यदि त्यस्तो असर भइहालेमा त्यो फ्लूको भन्दा कम हुन्छ । यदि कोरोनाभाइरस संक्रमणको दर गर्मी महिनामा कम भएमा फेरि जाडो महिनामा त्यो फैलिने क्रम बढ्न सक्छ । त्यतिबेला अस्पतालहरूलाई बिरामीको चाप धान्न मुस्किल हुनेछ ।

७. केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन् ?

धेरै मानिसमा कोभिड–१९ का सामान्य लक्षण मात्रै देखिन्छन् । तर झन्डै २० प्रतिशतमा गम्भीर लक्षण देखिन्छन् । किन होला ? मानिसको प्रतिरक्षा प्रणालीको अवस्थाले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

केही कुरा व्यक्तिको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ । त्यसबारे जति धेरै ज्ञान प्राप्त हुन सक्छ त्यसले सघन उपचार गर्नुपर्ने बिरामीको संख्या घटाउन त्यति नै ठूलो सहयोग पु¥याउन सक्छ ।

८. मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला ?

कोरोनाभाइरससँग संघर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ । तर त्यस्तो क्षमता कति समयसम्म रहला भन्ने बारे निकै थोरै प्रमाणहरू उपलब्ध छन् । यदि कुनै बिरामीको शरीरले कोरोनाभाइरसँग राम्ररी संघर्ष गरेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ ।

तर यो रोग केही महिनाअघि मात्र देखापरेकोले यसबारे पर्याप्त तथ्यांक उपलब्ध छैन ।
कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय संक्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको हुन्छ । त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुनसक्छ ।

९. के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला ?

भाइरसहरू बारम्बार आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहन्छन् । तर उनीहरूको आनुवंशिक संकेतलाई चलाउँदा धेरै फरक पर्दैन ।

त्यसरी भाइरसहरूले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा उनीहरू लामो समयपछि कम घातक हुन्छन् भन्ने समान्य नियम छ ।

तर त्यो निश्चित भने हुँदैन ।चिन्ताको विषय चाहिँ यो हो– यदि यी भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्न पनि सक्छ र कुनै भ्याक्सीन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ ।

भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण फ्लू रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन् । 

– बिबिसीबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here