एनआइसी एसियाको नयाँ ब्याजदर
असार २२, २०७७
प्रदेश टुडे
तुलसीपुर, २२ असार । एनआईसी एसिया बैंकले ग्राहकहरूका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण व्यापार, व्यसायमा प्रत्यक्ष प्रभाव परेको भन्दै बैंले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले विभिन्न प्रकारका कर्जाहरू उपलव्ध गराउँदै आफ्ना ग्राहकहरूका लागि नयाँ ब्याजदर र विशेष सेवाहरू ल्याएको बैंकका तुलसीपुर शाखा प्रमुख रमेश रेग्मीले बताए ।
व्यापार, व्यवसाय रोकिएको अवस्थालाई मध्यनजर गर्दै बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको उनले जानकारी दिए ।
यो योजनामा बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क (सेवा शुल्क)मा कर्जा उपलब्ध गराउने बताए । यसप्रकारको ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने उनले जानकारी दिए ।
घरजग्गा खरिद, घर निर्माण लगायतका काममा बैंकले यसै ब्याजदरमा ऋण उपलब्ध गराउने उनले बताए । यसरी ऋण लिदाको अवधि ५ वर्ष देखि ३० वर्षसम्मको हुने व्यवस्था छ । घर कर्जा योजनामा बैंकले १ करोड ५० लाखसम्म ऋण उपलव्ध गराउन सक्ने उनले जानकारी दिए ।
यस्तै सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको ऋण लिन सकिने उनले बताए । सवारी धितो राखेर ऋण लिदा ऋणको अवधि १० वर्ष र सवारी, घरजग्गा धितो राखेमा १५ वर्षको अवधि हुने व्यवस्था रहेको छ ।
बैंकले साना तथा मझौला उद्योग, व्यवसाय सञ्चालनका लागि आवधिक कर्जा र तथा ओभरड्राफ्ट कर्जाको रूपमा ऋण लिन सकिने बैंकका शाखा प्रमुख रेग्मीले जानकारी दिए । उनले व्यवसाय सञ्चालनका लागि अधिकतम १ करोडसम्मको ऋण बैंकले उपलब्ध गराउने बताए ।