६५ वर्षदेखिको पहिरो नियन्त्रण बाहिर
साउन १७, २०७७
पहिरोको उच्च जोखिममा कपुरकोट र राप्ती राजमार्ग
गोपाल शर्मा भट्टराई
दाङ, १७ साउन । राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडकखण्डको कपुरकोट क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । राजमार्ग र कपुरकोट बजार ६५ वर्षदेखि जोखिममा छ । तर त्यसको उचित व्यवस्थापन भने अहिलेसम्म पनि हुन सकेको छैन ।
६५ वर्षदेखिको पहिरोको नियन्त्रणका लागि राज्यले पहल नगरेपछि अहिले सडक र कपुरकोट बजार भासिन सुरू भएको छ । कर्णाली र प्रदेश नम्बर ५ दुई प्रदेशको सीमाना, तरकारीको उद्गमस्थल कपुरकोट बजार अहिले पहिरोको कारणले संकट र अत्यन्त जोखिममा छ । राप्ती राजमार्गको सल्यान–दाङ सडक खण्डको कपुरकोटमा रहेको खारा पहिरोका कारण राजमार्ग र बजार जोखिममा परेको हो ।
६ दशकदेखि वर्षाको समयमा नियमितरूपमा झरिरहने पहिरो रोकथामका लागि राष्ट्रियस्तरको योजना नआउनुले त्यसको असर राप्ती राजमार्गमा र कपुरकोट क्षेत्रमा परेको स्थानीयहरूको गुनासो छ ।
पहिरोलाई नियन्त्रणको प्रयास दीर्घकालिन रूपमा हुन नसकेको कारणले राप्ती राजमार्गको सल्यान–दाङ सडकखण्ड समेत भासिन थालेको छ । यसलाई अझै रोक्न पहल नभएमा पूर्णरूपमा राजमार्ग पहिरोमा विलय हुने प्राय निश्चित जस्तै छ ।
सो सडक खण्डमा रहेर लामो समय काम गरेका इन्जिनियर शिव नेपालले यसलाई रोकथाम गर्न विशेष अध्ययनको आवश्यकता भएको बताए । जमिनमुनिको समस्याले यस्तो भएको हो यसलाई पत्ता लगाउनलाई विशेषज्ञसहितको टोलीले अध्ययन गर्न जरूरी छ’
उनले भने ‘तीन पहाडको संगम भएको र माटो कमजोर भएकाले यो क्षेत्र अति जोखिममा छ । जिल्लास्तरमा पनि यसलाई अति जोखिममा राखेर संरक्षणको काम भइरहेको छ ।’
सडक इन्जिनियरहरूले पहिलोको संरक्षण नगरे तीन÷चार वर्षका कपुरकोट पूरै जोखिममा रहने र ठूलो धनजनको क्षति हुने बताइरहेका छन् । ‘कपुरकोट पूर्णरूपमा जोखिममा रहेको छ त्यसको संरक्षणको योजना सञ्चालन गर्दा ठूलो रकम खर्च हुन्छ त्यस कारण पनि अब बस्ती स्थानान्तर गर्नुपर्छ’ जिल्ला भूसंरक्षण कार्यालय सल्यानमा पूर्वप्रमुख शेषदत्त चौधरीले भने । क्षति घटाउन बस्ती नै उठाएर अर्काे ठाउँमा सार्नु पर्ने देखिन्छ ।
सल्यान जिल्लाको सबैभन्दा ठूलो पहिरो कपुरकोट खारा पहिरोले राजमार्ग छुन केही मिटर मात्रै बाँकी रहेको छ । यसलाई नियन्त्रण र रोकथाम नगरेमा अबको केही वर्षमै राप्ती राजमार्गको सो सडकखण्ड पूर्णरूपमा विलय हुने जिल्ला भू–संरक्षण कार्यालय पूर्व प्रमुख शेषदत्त चौधरीले बताए ।
कपुरकोटमा दिनानुदिन बढिरहेको कपुरकोट खारा विशाल पहिरोले राजमार्गलाई क्षति गरेर बगाएमा सल्यान, दाङ, रोल्पा, रूकुम, जाजरकोट डोल्पालगायतका जिल्लाहरूको केन्द्रीय सम्पर्कलाई टुटाउने छ भने आवतजावत समेत बन्द हुने तथा लाखौ नागरिकहरू मर्कामा पर्ने निश्चित छ ।
राप्ती राजमार्ग अहिले यि जिल्लाहरूको मुख्यद्वारका रूपमा रहेको छ । यसैगरी कपुरकोट र त्यहाँ रहेको बस्तीमा असर गरे त्यसको प्रभाव दाङको तुलसीपुर बजारमा समेत ठूलो क्षति हुने बताए । राप्ती राजमार्गको कपुरकोटको दक्षिणतिर रहेको पहिरोले राजमार्गलाई मात्रै नभएर जिल्लाका केही सरकारी कार्यालय तथा स्थानीय बजारलाई समेत संकटमा राखेको छ ।
राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यक्रमको कार्यालय, सल्यान रोल्पा सडक, कपुरकोट बजारमा समस्या छ । करिब ६५ वर्ष अघिदेखि सुरू भएको पहिरो ७०० मिटर लम्बाई र ३०० मिटर चौडाई तथा ३० मिटर गहिराई रहेको छ ।
पहिरोले १६ हेक्टर जमिन ओगटेको चौधरीले जानकारी दिए । कमेरो सेतो रंगकोे, रातो ग्रेग्रान मिसिएको कालो चिम्टयाइलो तीनथरीको माटो भएकाले पानी पर्दा एकदम कमलो र चिप्लो हुने सुख्खा याममा चट्टान जस्तो कडा हुने भएकाले पनि वढि संवेदनशील पहिरो भएको उनले बताए ।
यसको नियन्त्रणका लागि राज्यले दीर्घकालिन तर ठूलो खालको योजना ल्याउनुपर्ने चौधरीको भनाई छ । पहिरोहरूलाई न्यूनीकरण गर्न सामान्य प्रयास भए पनि ठूलो प्रयास हुन सकेकोे छैन ।
चार वर्ष पहिले पहिरोको कारण कपुरकोटको मुल बजारको क्षेत्रमा भासियो । केही घरहरू पहिरोले लग्यो । बजार क्षेत्रमा राप्ती राजमार्गको केही भाग दुई मिटर तल भासियो । अहिले राजमार्ग र कपुरकोट बजार क्षेत्र पहिरोको कारण भासिरहेको छ ।
पहिरोले बगाउँदा कपुरकोटमा रहेको कालिका मावि पूर्णरूपमा क्षति भएर स्थानान्तरण नै हुनुपरेको छ । अहिले विद्यालय अर्काे स्थानमा सञ्चालन भइरहेको छ ।
बर्सेनी नियमितरूपमा कपुरकोट बजार र राप्ती राजमार्ग भासिन थालेपछि स्थानीयहरू चिन्तित त्रसित हुँदै आएका छन् । कपुरकोट बजार भासिन थालेको स्थानीय व्यवसायी चन्द्रकमल वलीले जानकारी दिए । बजार क्षेत्रमा रहेको झण्डै ३० मिटर सडक र सो आसपासमा रहेका घरहरू भासिन थालेका हुन् ।
राममार्ग भासिदा गएको पहिरोको कारण राप्ती लोकमार्गसँगै रहेको कालिका मावि विस्थापित भएर स्थानान्तरण भएको थियो भने अहिले बस्ती नै विस्थापन हुने अवस्थामा पुगेको छ ।
स्थानीय व्यवसायी वलीले सडकको दक्षिणतिरको जमिन र त्यहाँ भएका घरहरू भासिएको र घरको केही भाग भिरालो भएको र दक्षिणतिरको आधा सडकसमेत भासिएको अवस्थामा छन् ।
राज्यले कुनै पहल गरेको छैन । वर्षायाममा स्थानीयहरू राति घरमा बस्न छोड्ने गरेका छन् भने दिउँसो पनि डराई–डराई घरमा बस्ने गरेको स्थानीयहरूको भनाई छ । पहिरोकै कारण राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यालय कपुरकोटसमेत जोखिममा रहेको छ ।
पहिरोका कारण कपुरकोट संकटमा परेको छ, सडकखण्डमा यातायात व्यवसाय सञ्चालन गर्दै आएका सवारीधनी खडक विसीले भने, जमिन भासिएका कारण ढुक्कसँग यातायातका साधन चलाउन समेत अप्ठेरो हुने गरेको छ ।
राप्ती राजमार्ग, कपुरकोट क्षेत्रको बस्ती र व्यापारिक केन्द्रमा आश्रित व्यापारी, कृषकहरूको भविष्य तथा राष्ट्रिय अदुवाबाली अनुसन्धान परियोजनाको कार्यक्रमसमेत जोखिममा रहेको चौधरीको तर्क छ । त्यस्तै दाङ तुलसीपुर बसपार्क क्षेत्रको बस्ती, रक्षाचौर टरिगाउँ उरहरीसमेतको हजारौं बस्तीहरूको बिजोग हुने अवस्था आउन सक्नेछ ।
सल्यानका प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कपुरकोटको खारा पहिलोको समस्या रहेको बताए । उनले आफू जनप्रतिनिधि भएदेखि केही प्रयास गरिरहेको भन्दै केन्द्रीय सरकारको समन्वयमा मास्टर प्लान निर्माण योजना अघि सानुपर्ने अवस्था आएको बताए ।
‘पहिलेभन्दा धेरै काम भएको छ, मन्त्री ज्वालाले भने, तर खतरा कायमै छ, यसलाई व्यवस्था पनि गर्न सकिने भने ठूलो विपद् आउनसक्छ । उनले संघसँगको समन्वयमा क्षेत्र प्रदेशको प्राथमिकतामा रहेको बताए ।
४२ सालदेखिको प्रयास
तत्कालिन जिल्ला भू–संरक्षण कार्यालय सल्यानले ४२ सालदेखि पहिरो नियन्त्रणका लागि वार्षिक रूपमा कार्ययोजनामा राखेर गर्दै आएको थियो । एकलाख बढी बराबरको तारजाली बाँध्ने काम गरिरहेको बताएको छ । ठूलो रकम नभएकाले सानोतिनो बजेटले तारवार वायु इन्जिनिरिङको काम मात्रै भूसंरक्षणले सामान्य रोके पनि दीर्घकालिन नभएको चौधरीको भनाई छ ।
अहिले उक्त कार्यालय जिल्लामा छैन । अन्य निकायले यसतर्फ ध्यान दिएका छैनन् । उनले ४२ सालदेखि अहिले यो पहिरोका लागि झण्डै एक करोड जति खर्च भएको पूर्व प्रशासकहरूको आँकलन छ । राष्ट्रिय ठूला योजना रोकथामका लागि नआए पहिरोले सारा बगाउने स्थानीयहरू बताउँछन् ।