चुनढुङ्गा उत्खनन्मा रोक्न माग्
साउन २४, २०७६
तुलसीपुर, २४ साउन । बंगलाचुली गाउँपालिका–६ तिमिलेका स्थानीय जनताहरुले चुनढुङ्गा उत्खननमा रोक लगाउन माग गरेका छन् । जथाभावी चुनढुङ्गा उत्खनन्ले पानीका मुहान सुक्दै गएको र वातावरणीय असर पर्न थालेको भन्दै स्थानीयले चुनढुङ्गा उत्खननमा रोक लगाउन माग गरेका हुन् ।
स्थानीयले चुनढुङ्गा उत्खनन्मा रोक लगाउन माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएका छन् । चुनढुङ्गा उत्खनन रोक्का संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले सिमेन्ट उद्योग र गाउँपालिकासँग छलफल गरी निर्णय दिने बताए । ज्ञापनपत्रमा चुनढुङ्गा उत्खनन तयारी भएको खबरले स्थानीय जनता स्तब्ध भएको र यसरी उत्खनन भएमा तिमिले मात्र नभई दाङको उत्तरतर्फ पानीको स्रोतकोे रुपमा रहेको महाभारत पहाड खलबलिने, पानीका मुहान सुक्ने, वन बिनास हुने र जिल्ला नै सुक्खा बन्ने कुरा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउनु अघि गाउँमा स्थानीयहरुको बृहत भेला गरी चुनढुङ्गा उत्खनन हुन नदिनको लागि भएको निर्णय प्रतिलिपि पनि ज्ञापनपत्र साथै बुझाइएको छ । ज्ञापनपत्रमा संघर्ष समितिका अध्यक्ष शोभाराम ओली र सचिव बुद्धिराम खत्रीको हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बुझाउँदा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, सदस्य खडानन्द खनाल र अखिल छैठौंका जिल्ला सदस्य लक्ष्मण विकको पनि उपस्थिति रहेको थियोे ।