अस्तव्यस्त घोराहीको बधशाला
भदौ २१, २०७५
घोराही, २१ भदौ । दाङको घोराही बजारमा खपत हुने मासु काटिने ठाउँ घोराही उपमहानगरपालिका–१८ चमईसोतामा रहेको बधशाला व्यवस्थित हुन नसक्दा आफूहरुले सास्ती पाउने गरेको स्थानीयले बताएका छन् । स्थानीयहरुको विरोध पछि उपमहानगरले गरेको अनुगमनमा बधशाला अस्तब्यस्त देखिएको थियो । त्यसपछि ब्यवसायी, स्थानीय र जनप्रतिनिधिहरु बीचको छलफल पछि केही व्यवस्थित गर्ने सहमति पनि भएको छ । दुईदिन भित्र बधशाला व्यवस्थित गराउन मासु व्यवसायीलाई भनिसकेका छौँ– घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष शक्तिराम डाँगी भने, हामीले एक वर्षअघि नै मासु पसल व्यवस्थित बनाउन लागि परेका छौँ तर कतिपय व्यवसायीले कार्यान्वयन गरेका छैनन् अब हामीले अन्तिम पटक भनेका छौँ, उनले भने, अब पनि कार्यान्वयन नभए ब्यवसाय बन्द गराउने समेत चेतावनी दिएका छौँ । बुधवार वडा कार्यालयमा मासु व्यवसायीलाई बोलाएर खबरदारी गरेका छौँ , व्यवसायीले दुई दिनभित्र निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् उनको भनाई छ । मासु खुला रुपमा राख्ने गरिएको, मासु झुण्ड्याउने अंकुश खिया लाग्ने गरेको, मासु काट्ने ठाउँ सफा नभएको लगायतका समस्या भएको भन्दै स्थानीय सरकारले व्यवसायीलाई यस अघि पनि मासु पसल व्यवस्थित बनाउन आग्रह गरेको थियो । मासु व्यवसायी अव्यस्थित हुँदा नागरिकले स्वस्थकर मासु खान नसकेको घोराही उपमहानगपालिका पशु शाखा प्रमुख निमबहादुर पुनले बताएका छन् । उपमहानगरपालिकाभित्रका मासु पसल सफा र व्यवस्थित हुन नसकेको भन्दै जनगुनासो बढेपछि व्यवसायीलाई मासु पसल व्यवस्थित बनाउन उपमहानगरले चासो देखाएको हो । व्यवसायीलाई निर्देशन घोराही उपमहानगरपालिकाले मासु पसल व्यवस्थित बनाउनु व्यवसायीलाई निर्देशन समेत दिएको छ । तोकिए बमोजिमको मापदण्ड पूरा नगरे व्यवसाय बन्द गर्नेसमेत उपमहागरपालिकाले चेतावनी दिएको छ । कहिले घोराही बजार क्षेत्रमा रहेको राँगा बधशाला दुई दिनमा सुधार गरिने भएको छ । घोराही उपहानगरपालिका वडा नम्बर १८ चमेली सोतामा रहेको राँगा बधशाला वातावरणमैत्री नभएको पाइएपछि स्थानीय सरकारले गरेको छलफलमा व्यवसायीहरुले दुई दिनमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । राँगा बधशाला व्यवस्थित नभएको, अत्यधिक फोहोर भएको र नजिकैका टोल तथा विद्यालयहरुलाई दुर्गन्धले असर गरेपछि घोराही उपमहानगरपालिकाले सुधारका लागि प्रयास थालेको हो । राँगा मासु व्यवसायीहरुले दुई दिनमा फोहोर व्यवस्थापन गर्ने टंकी निर्माण गर्ने, सफा पानीको व्यवस्थापन गर्ने र उपमहानगरले आउन जान सहजताका लागि ग्राभेल गर्ने सहमति भएको छ । व्यवसायीहरुले वडा नम्बर १८ को चमेली सोतामा राँगा बध गरेर वडा नम्बर १४ को नयाँ बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । साथै बिक्री गर्दा पनि बाहिर नझुण्ड्याउने, सिसा वा जाली लगाउने, अनिवार्य फ्रिजमा मासु राख्ने र अटेर गरे कानून अनुसार कारवाही भोग्न तयार हुनेमा व्यवसायीहरुले सहमति जनाएका छन् ।