Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

बृद्घबृद्घाहरूको सामाजिक अवस्था र सन्ततिको भूमिका

    भदौ २५, २०७५              प्रदेश टुडे

epradeshtoday

कमलमणि देवकोटा

पारिवारिक महत्व एवं सामाजिक उत्तरदायित्व

मानिस एक सामाजिक प्राणी भएको कुरा त एक विश्वव्यापी मान्यता नै हो । यही सामाजिक प्राणी भएकोले नै ऊ हरेक सामाजिक गतिविधिमा बाँधिएको हुन्छ । समाजका पनि आफ्नै मूल्य, मान्यता, संस्कृति, परम्परा, आपसी समन्वय आदि सामाजिक विशेषताहरू छन् । यिनै सामाजिक विशेषताले नै हरेक मान्छेलाई सामाजिक सञ्जालरूपी मर्यादाभित्र रहन अभिप्रेरित गरिरहेका हुन्छन् । जहाँ आपसी सहयोग एवम् सद्भावको खाँचो निरन्तररूपमा परिरहन्छ । यही सामाजिक सञ्जालभित्रको एक सानो इकाई हो परिवार । हुन त केही समाजशास्त्रीहरूले समाज एवम् राज्यलाई नै एक विशाल परिवार मानेका छन् । व्यापक अर्थमा यसलाई पनि परिवारको परिभाषामा नकार्न सकिँदैन । तथापि मानिसकोे सर्वाङ्गीण गतिविधि नै एउटा घरबाट सुरु हुन्छ र घरबाटै सकिन्छ । वास्तवमा यही घर नै उसको पारिवारिक थलो हो, जहाँ मानिसको जन्मदेखि मृत्युसम्मको जीवनचक्र घुमिरहेको हुन्छ । जब मान्छे आमाको कोखबाट यस धर्तीमा पदार्पण गर्छ तब उसलाई यही सामाजिक वातावरणीय अनुकूलताको आवश्यकता पर्न थाल्छ । अनि आमाबुवाको न्यानो माया ममता एवम् पालनपोषण पाई हुर्कन्छ, बढ्छ । समाजमा एक उच्च र आदर्श व्यक्तिको रूपमा परिचित हुन्छ । वास्तवमा सामाजिक एवम् पारिवारिक परिवेश विनाको मानिस एउटा निरीह प्राणी जस्तै हो । जसको कुनै अस्तित्व नै हुँदैन । त्यसैले एउटा मानिसको पूर्ण जीवन बन्नका लागि परिवार एवम् समाजको महत्व अपरिहार्य हुन्छ ।

पौराणिक संयुक्त परिवार, वर्तमानमा छोटो आकार

केही वर्ष पहिलेको पारिवारिक अवस्था वर्तमान समयभन्दा अलि बेग्लै प्रकारको थियो । जहाँ एउटा संयुक्त परिवारको रूपमा ठूलो परिवार संख्या हुन्थ्यो । बाबुआमा, छोराछोरी, विवाहित दाजुभाइहरू र उनका सन्तत्तिहरू सबै सँगसँगै बस्ने, सँगै खाने र कामकाज पनि सँगसँगै मिलेर नै गर्ने गर्थे । यस्तो संयुक्त परिवारको संख्या दर्जनौं हुनु सामान्य कुरा हुन्थ्यो भने सोभन्दा पनि बढी संख्यामा हुने गथ्र्याे । घरको र बाहीरको काम परिवारका सबै सदस्यले सल्लाह गरेर अर्थात मिलेर गर्ने गर्थे । यस्ता परिवारमा प्रायजसो पुरुषहरूले मात्र विद्यालयबाट औपचारिक शिक्षा लिने अवसर पाउँथे भने नारीहरू केवल घरको काममै व्यस्त रहने परिपाटी थियो । जसलाई सुरुदेखि नै पितृसत्तात्मकरूपमा हेरिँदै आएको मान्यता छ । विद्यालयहरू टाढा–टाढा हुनु, ती पनि एकदम कम मात्रामा हुनु, यातायातको कठिनाई हुनु, कृषिमा नै निर्भरता आदि त्यतिबेलाका विशेषता हुन् । अतः धेरै संख्यामा मानिसहरू अनपढ हुनु स्वभाविकै थियो । यसरी अशिक्षित हुँदाहुँदै पनि त्यस्ता परिवारमा कुशल संस्कार भने थियो । बाबुआमाप्रति मर्यादा राख्ने र आपसमा विवाहित दाइभाइहरू पनि धेरै वर्षसम्म एउटै परिवारमा मिलेर बस्ने गर्थे । तर त्यतिबेलाको तुलनामा वर्तमान समयमा धेरै परिवर्तन भैसकेको छ । जो हुनु पनि स्वभाविकै हो । तर धेरैजसो ठाउँमा पहिलेको तुलनामा अहिले कुनै त्यस्तो टाढा पढ्न जाने समस्या, भौगोलिक विकटता एवम् यातायाताको कठिनाई र कृषि कार्यमा निर्भरता आदिको जरुरत छैन । परिवार एकदमै छोटो छ । पहिलेजस्ता ग्वारग्वार्ती छोराछोरीहरू जन्माउने काम पनि हुँदैन । संयुक्त परिवारको त कुरै छोडौँ छोराछोरीसँगको सीमित परिवारबाट पनि खुम्चिएर बाबुआमा एकातिर छोराछोरी अन्तै अध्ययन वा आ–आफ्नो पेशामा व्यस्त देखिन्छन् । कहिलेकहीँ मात्र सँगै बसे पनि बाध्यताले फेरि अलग्गै बस्ने अवस्था सिर्जना हुन्छ । दूरीको हिसाबले जति टाढा भएपनि यातायात एवम् सञ्चारमा भएको व्यापक परिवर्तनले धेरै लामो समयको अन्तरालमा भेट हुन नसक्ने अवस्थालाई कम गराएको छ । अहिले यत्रतत्र विद्यालयहरू छन् । चाहे अध्ययन होस् या अरु कुनै पनि व्यवसाय गर्नलाई यदि क्षमता छ भने नारी पुरुषमा कुनै भेदभाव छैन । सबै शिक्षित छन् । सबै सचेत छन् । सबै स्वावलम्बी बन्न चाहन्छन् । यति हुँदाहुँदै पनि बाबुआमाको हेरबिचार कार्यदेखि छोराबुहारीहरू अलि टाढिँदै गएका छन् । अर्थात छोराबुहारी र बाबुआमाबीचको दूरी अलि फराकिलो हुँदै गइरहेको अवस्था छ । अझ अशक्त र बृद्घावस्थामा त झन् बाबुआमा आफ्नै सन्तानहरूबाट पनि सन्तानबिहीन झैँ हुनुपरेको अवस्था छ । अतः पहिलेको जस्तो कुशल संस्कार एवम् संस्कृतिको अभाव हुँदै गइरहेको छ । पहिलेको समयमा संयुक्त परिवारहरू यत्रतत्र धेरै संख्यामा पाइन्थे भने वर्तमान युगमा परिवारका आकार प्रकार निकै नै खुम्चिँदै गएका छन् ।

बृद्धबृद्धाको कहाली लाग्दो अवस्था, आफ्नै सन्तानबाट नै वेवास्ता

हाम्रो संस्कार बमोजिम छोरीहरूको उमेर पुगेपछि विहे भएर आ–आफ्ना घरमा जाने र छोराहरू मात्र त्यो घरमा बस्ने परम्परागत प्रचलन रहिआएको छ । यस्तो अवस्थामा भने कतिपय बुवा आमाहरू घरमा भएका विवाहित छोरा बुहारीहरूबाट सेवा नपाएका अर्थात वेवास्ता गरिएका प्रसस्त उदाहरणहरू भेटिन्छन् । हुन पनि प्रायजसो घरमा जसका एकभन्दा बढी छोराहरू हुन्छन् । तिनीहरूको विहे नहुँदासम्म एउटै आमाको पेटमा हुर्केका ती दाइभाइहरू निकै नै राम्रो तरिकाले मिलेर बसेका हुन्छन् । जब उनीहरूको विहेबारी हुन्छ अनि एकआपसमा मनमुटाव सुरु हुन्छ । आपसमा मनमुटाउ हुनु वा एकले अर्काेप्रति नकारात्मक सोच्नु र आ–आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुनु नै अधिकांश दाइ भाइहरूको विशेषता नै हो । अपवादको रूपमा थोरै मात्रामा मात्र लामो समयसम्म एउटै घरमा मिलेर बसेका दाजुभाइहरू पनि भेटिन्छन् । जो असल संस्कारमा हुर्किएका र बावुआमाबाट कुशल शिक्षा पाएका सन्तान नै हुन्छन् । नत्र भने अधिकांश दाजुभाइहरूले एक–आपसमा अनेक निहुँ खोज्नु अनि पछि बाबुआमाबाट समेत अलग्गिएर बस्नु र पैतृक सम्पत्तिको अधिकार खोज्नु वर्तमानमा सामान्य घटना भइसकेका छन् । एउटा मात्र छोरा छ भने त बावुआमासँग बाध्यताले बस्न कर लाग्ला अन्यथा बावुआमा खेल मैदानमा एकले अर्काेतिर फ्याँक्ने फुटबल सरह नै हुन्छन् । छोराछोरी सानै अवस्थामा भएका वा कतै टाढा पढ्न गएका वा व्यवसायको निम्ती अनेत्रै बस्नु परेका अपवाद बाहेक माथि व्याख्या गरिए जस्तो अन्य परिस्थितिमा भने बावुआमाले एक्लै आफ्ना पाखुराको बर्कतले नै पेट पालेको अवस्था देखिन्छ । यसो हेर्दा यसलाई सामान्य परिस्थिति नै मान्न सकिएला । तर त्यतिबेला बावुआमाको जीवन अभिशापपूर्ण भएको ठहर्छ जब उनीहरू बृद्घ, अशक्त, अपाङ्ग एवम् सहाराविहीन र कहालीलाग्दो अवस्थामा जिउन बाध्य हुन्छन् । पहिले सबै सँगै बस्ने तर जब उनीहरूलाई अर्काको सेवा चाहिने हो त्यतिबेला भने आ–आफ्नो स्वार्थसिद्घमा लिप्त भएको पाइनु नै आजको एक कहालीलाग्दो अवस्था हो । यतिबेला जति धेरै संख्यामा भएपनि छोरा बुहारीहरू केही न केही बहानामा बावुआमाबाट अलग्गिएर बस्ने, पैतृक सम्पत्तिमा पनि निकै नै आशा राख्ने तर सकभर बावुआमाबाट भने टाढा रहन खोज्ने मनोवृति वर्तमानमा प्रसस्त भेटिन्छन् । अझ यति मात्रै भए त हुन्थ्यो झन् त्यस्ता छोराबुहारीहरू पनि भेटिन्छन् जसबाट सेवा सत्कार पाइनुको सट्टा उल्टो बृद्घ, अशक्त, अपाङ्ग अवस्थाका बुवाआमाहरू निकै नै सताइएका बर्बरतापूर्ण एवम् कहाली लाग्दा अवस्थाहरू यो समाजमा अनगिन्ती सुनिन्छन् र देखिन्छन् पनि ।

कुशल संस्कार एवम् नैतिक शिक्षा केवल पढाएर मात्र सिकिने कुरा होइन कि यो देखेर वा सिकेर प्रभाव पर्ने कुरा नै हो । यसबाट यस्तो कुरा स्पष्ट हुन्छ कि जहाँ बृद्घावस्थाका वा अशक्त अवस्थाका बाआमालाई उचित स्याहार सुसार पु¥याइएको हुन्छ त्यस घरमा ईष्टमित्र एवम् आफन्तजनहरूबाट पनि उच्च मूल्याङ्कन भईरहेको हुन्छ । त्यस घरमा आफन्तजनहरू पनि आउने जाने गर्छन् । आपसी समन्वय तथा सद्व्यवहार नै सुमधुर बन्न जान्छ । साथै त्यसको प्रत्यक्ष सन्देश बाहिरसम्म पनि फैलिन्छ । जो एउटा गर्व गर्नलायक विषय पनि हो ।


हाम्रो समाजका केही पारिवारिक उदाहरणीय दुःखद् घटनाहरु

आज हाम्रो समाजमा एकपछि अर्काे गर्दै थपिईरहेका केही दुःखद् घटनाहरू छन्, जो देख्दा त के सुन्दा पनि सबैको मनमा असह्य पीडाबोध हुन्छ । यस्ता घटनाहरू देख्न र सुन्न धेरै टाढा खोज्न जानु पर्दैन । यो अध्ययताले केही आफ्नै आँखैले देखेका र कानले सुुनेका यस्ता कहालीलाग्दा उदाहरणीय घटनाहरू मन मस्तिष्कमा सल्बलाईरहन्छन् । साथै दाङ उपत्यकाभित्रकै केही वर्ष यताका हृदयस्पर्सी अर्थात् चोटिला नमूनारूपी घटनाहरूः–
१) बुवा÷आमाको मृत्युपश्चात् चार छोराहरूमध्ये दुईभाइले घरमै बसी किरिया गरेको तर दुई भाइले भने बाबुआमाबाट प्राप्त पैतृक सम्पत्तिमा चित्त नबुझेको कारणले बाहिर जिल्लामा बसेर किरिया गरेको ।
२) अशक्त एवम् अरुको सहारा लिने अवस्थाकी बृद्घाआमाका तीनभाइ छोराबुहारीहरूबाट उचित सेवा नपाउने अवस्था सिर्जना भएपछि बाध्यतावस वर्षाैंसम्म छोरीको घरमा नै रहेर उचित स्याहारसुसार पाएको ।
३) आठ दशक वर्ष पार गरिसकेका बृद्घावस्थाका बुवा र अशक्त अवस्थाकी बृद्घाआमा जो अरुको सहारा चाहिने अवस्थामा पनि जेठा छोराबुहारीसँग बस्न नसकि बाध्यतावस अनेत्रै डेरा गरी बस्नु परेको कहाली लाग्दो अवस्था ।
४) यसैगरी छुट्टिएर बसेका आफ्नै सन्तान भनाउँदा तीन छोरा र एक छोरीकी बृद्घाआमाले छोरीको नाममा घडेरी पास गरिदिइन् भनेर तिनै छोरा भनाउँदाहरूबाट निर्घातरूपमा पिटाई खाँदा छिमेकीले जोगाएको दुःखद् अवस्था ।
५) आफूलाई जन्मदिने आमासँग झगडा गरी बीस वर्षसम्म नबोली आवतजावत नै बन्द गरेको र पछि उनको मृत्युपछि तेह्र दिनसम्म किरियाको स्वाङ पार्दै र एकवर्षसम्म सेता कपडा लगाई बरखी बसेको ।
६) बुवाले पैतृक सम्पत्तिमा ठगे, अंश दिएनन् भनेर मुद्दा दिने बोली बारबार गर्ने, उनीहरूको काज किरिया नै नगर्ने र यदि गरे पनि नानाभाँती र अमर्यादित शब्दहरू प्रयोग ।
७) एकजना सरकारी अधिकृतस्तरका कर्मचारीकी श्रीमतीले ‘यिनी विधवा सासूलाई पालेर बस्नुभन्दा त बरु यिनलाई पाल्दिने मान्छे कोही भए त दुईलाख रुपियाँसम्म दिने थियौं’ जस्ता निकै कठोर एवम् अति निन्दनीय शब्द प्रयोग गरेकोे ।
८) यिनी बुढाबुढीहरूलाई घरमा पालेर बस्नुपर्छ र पो नत्र भने त हामीलाई फुर्सदै फुर्सद हुन्थ्यो । यिनीहरूकै कारणले घरको कोठा भाडामा दिन सकेका छैनौं ।
९) यिनी बुढाबुढीले ऐया ऐया गरेर रातभर आफू त सुत्दैनन् सुत्दैनन् र हामीलाई समेत सुत्न दिँदैनन् । हामीलाई त कत्ति पनि आराम हुँदैन ।
१०) यिनी बुढाबुढीहरू त अरु छोराहरूको घरमा या छोरीहरूकै घरमा वा बृद्घाश्रममा गएर बसे पनि त उछितो हुन्थ्यो ।
११) अब त यस्ता बुढाबुढीहरू चाँडै गए पनि हामीलाई हाइसन्चो त हुँदा होे ।
यस्तै गरी बृद्घ, रोगी एवम् अशक्त अवस्थाका बाआमासँगै बसेर उनको सेवा गर्न अप्ठेरो मान्ने । यसैगरी यहाँ आफूलाई कस्तो हैरान छ कस्तो ? यस्तो दुःख पाएर बाँच्नु पनि के बाँच्नु ? भनेर निकै नै कठोर शब्दहरू प्रयोग गर्नेहरूको यहाँ कत्ति पनि कमी छैन । यदि बुवाआमासँगै बस्नु परे पनि उनीहरूसँग कचकच गरेर बस्ने, बोझ ठान्ने, कुनै न कुनै कुराको आरोपसमेत लाउने । बाआमाले बोलेका कुराहरू काट्ने र सकेसम्म उनीहरूलाई बेसरी नै डाँठ्ने र अप्रिय शब्दहरू बोल्ने । तर आफन्त कोही भेट्न आएको अवस्थामा भने निकै नै मिजासिला खुटिएर र मीठा कुरा गरेर लस्का लगाउने गरेका अवस्थाहरू यहाँ अनगिन्ती भेटिन्छन् । बाआमासँगै बसेका कोही कोहीले त ‘बाआमालाई मैले पालेको छु ।’
उनीहरू मसँगै नै त बस्छन्” भनेर निकै नै रवाफपूर्वक धाक लगाउने । ‘यो बुढेसकालमा यिनीहरूलाई पाल्ने जिम्मेवारी आफैलाई आयो के गर्नु र खै ?’ जस्ता अप्रिय शब्दहरू बोल्ने जस्ता घटनाहरू त यो समाजमा कति छन् कति ? स्मरण रहोस् यी सबै कहालीलाग्दा घटनाहरू दाङ उपत्यकामा बसोवास गर्ने केवल बाहुन जातिका मात्रै हुन् । यी त यो अध्ययताले आँखैले देखेका सुनेका केही ज्वलन्त उदाहरण मात्रै हुन् । यहाँ बाहिर प्रचारमा आउन नसकेका र गुप्तचुप्तरूपमा रहेका यस्ता अनगिन्ती कहालीलाग्दा अर्थात् मार्मिक घटनाहरू कति छन् कति ? जो यहाँ उल्लेख गरेर कुनै साध्य नै छैन । यहाँ उल्लेख गर्दा पनि सायद यी अक्षरहरू पढ्ने र सुन्ने जुनसुकै पाठकवर्गको कोमल मर्म पनि पग्लिन सक्छ । हो, यस्ता कतिपय घटनाहरू त बाहिर नै आउँदैनन् । किनकि कहीँ न कहीँ इज्जत र प्रतिष्ठा बोकेका र साँस्कारिक मूल्य र मान्यतामा हुर्केका आफन्तजनको नातासँग पनि जोडिएका हुन सक्छन् । यस्ता कैयन घटना त भित्रभित्रै सुम्सुम्याएर राखिएका हुन्छन् । जहाँ भित्रभित्रै उकुशमुकुसको आगो दन्किरहेको हुन्छ भने त्यस्ता बुवाआमाले आफ्ना सन्तानका कमीकमजोरीहरू सार्वजनिक गर्न नचाहेर पनि भित्रभित्रै भुसको आगो झैँ पोलिएर खाक हुँदै गएका हुन्छन् । यसरी सँगै बसेका आमाबालाई फकाई फुल्याई उनीहरूसँग भएको केही पैसा भए पनि आफूले नै लैजाने, भएको घर जग्गा आदि भौतिक सम्पत्ति पनि भोलि दाजुभाइमा त्यही कारणले झगडा भै मुद्दासम्म चल्ने अवस्था सिर्जना किन नहोस् पछि के होला भन्ने कत्ति पनि नसोचेर आफ्नो नाउँमा गराउन षड्यन्त्र गर्ने । अन्त्यमा बृद्घ एवम् अशक्त अवस्थाका बाआमालाई बृद्घाश्रम वा पराइको जिम्मा लगाएर आफू उनीहरूबाट टाढिने । ‘यिनी बाआमालाई पाल्दा मेरो यति खर्च भो उति खर्च भो । यिनीहरूका लागि हामी निकै दुःख काटेका छौं’ भनेर दाजुभाइहरूसँग हिसाव खोज्ने जस्ता अप्रिय घटनाहरू पनि यहाँ अनगिन्ती छन् ।

व्यवहारिक शिक्षा कुशल संस्कार, सच्चा जीवनको मूल आधार

यस्ता कहालीलाग्दा घटनाहरूलाई नियाल्दा के बुझिन्छ भने यस्तो साँघुरो सोचाईका गतिविधिहरू बढ्दै जानुमा कुशल संस्कारको अभाव देखिन्छ । वास्तवमा औपचारिक शिक्षा मात्रै हासिल गरेर पुग्दैन हरेक परिवारका सन्ततिहरूलाई आज कुशल संस्कारको पनि निकै खाँचो छ । जुन परिवारमा सन्ततिहरू कुशल संस्कार र संस्कृतिमा हुर्कन्छन् त्यो घरमा पक्कै पनि राम्रो प्रभाव परिरहेको हुन्छ । किनकि अगाडिका आमाबावुहरूले गरेको सद्व्यवहारलाई लागू गरेर नै भावी सन्ततिहरूले यस्तो व्यवहारको सिको गर्दै जाने हुन् । किनकि जुन परिवारमा बाआमाको कुनै सम्मान गरिएको हुँदैन र उल्टो उनीहरूलाई तिरस्कार गरिएको हुन्छ त्यसको प्रत्यक्ष प्रभाव त सन्तानमा परि नै हाल्छ । कुशल संस्कार एवम् नैतिक शिक्षा केवल पढाएर मात्र सिकिने कुरा होइन कि यो देखेर वा सिकेर प्रभाव पर्ने कुरा नै हो । यसबाट यस्तो कुरा स्पष्ट हुन्छ कि जहाँ बृद्घावस्थाका वा अशक्त अवस्थाका बाआमालाई उचित स्याहार सुसार पु¥याइएको हुन्छ त्यस घरमा ईष्टमित्र एवम् आफन्तजनहरूबाट पनि उच्च मूल्याङ्कन भईरहेको हुन्छ । त्यस घरमा आफन्तजनहरू पनि आउने जाने गर्छन् । आपसी समन्वय तथा सद्व्यवहार नै सुमधुर बन्न जान्छ । साथै त्यसको प्रत्यक्ष सन्देश बाहिरसम्म पनि फैलिन्छ । जो एउटा गर्व गर्नलायक विषय पनि हो । त्यसैले चाहे जे जस्तो परिस्थिति नै किन नआवस् बृद्घबृद्घा वा अशक्त अवस्थाका बाआमालाई सेवा पु¥याएर बस्नसक्नु नै एउटा ठूलो सौभाग्य हो । यस्तो सेवा गर्न पाउने सुनौलो मौका सबै सबैलाई र सधैँ–सधैँ आउँदैन पनि । वास्तवमा यस्तो शुभअवसर जीवनमा केवल एकपटक मात्र प्राप्त हुन्छ । किनकि आमाबाको तराताकत भएको अवस्थामा त सबै सँगै बस्न सक्छन् र सबै सँगै रमाउन सक्छन् । तर बृद्घ, अपाङ्ग एवम् अशक्त अवस्थामा मात्र सन्तानको सहारा चाहिने वा आफन्तको खाँचो पर्ने हो । वास्तवमा कुशल संस्कार भनेकै यो एउटा मात्र ज्वलन्त नमूलारूपी उदाहरण हो । त्यसैले सबैले यो महावाक्य थाहा पाउनुपर्छ ‘पूजाका ओँठभन्दा सेवाका हातहरू पवित्र हुन्छन्’ भनेर ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

बबईका विद्यालयमा अनुगमन

असोज ०९, २०७७

विश्वकर्मा कारागार चलान

भदौ ०२, २०७५

मानव बेचबिखनविरुद्ध कार्यक्रम

भदौ २१, २०७५

संस्कृति संरक्षण

कार्तिक ०९, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2759

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.