स्वास्थ्यको वार्षिक समीक्षा
असोज ११, २०७७
प्रदेश टुडे
देउखुरी, ११ असोज । राप्ती गाउँपालिकाले स्वास्थ्यको समीक्षा कार्यक्रम गरेको छ । गाउँपालिकाले स्वास्थ्य शाखामार्फत सञ्चालन गएका गत वर्षको गतिविधि र तिनको प्रभावकारिताका बारेमा छलफल एवं समीक्षा गरेको हो । कोभिड–१९ का कारण सबै कार्यक्रमहरू पूर्णरूपमा प्रभावित हुँदा उपलब्धि हासिल गर्न नसकेको निष्कर्षसमेत निकालेको छ ।
कार्यक्रममा राप्ती गाउँपालिकाका स्वास्थ्य संस्थाबाट प्रवाह गर्दै आएका सेवा सुविधा तथा कठिनाईका बारेमा छलफल एवं समस्याहरूको विश्लेषण गरिएको थियो । राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकी र तीनवटा स्वास्थ्य इकाईले प्रदान गरेका जनस्वास्थ्यका विषयमा स्वास्थ्य शाखाका प्रमुखहरूले प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा समग्र गाउँपालिकाको स्वास्थ्य प्रमुख नारायण राउत र सिसहनिया स्वास्थ्य चौकीको गत वर्षको प्रगति विवरण प्रमुख धनबहादुर खड्का, लालमटिया स्वास्थ्य चौकीका प्रमुख गिरबहादुर पौडेल, मौरीघाट स्वास्थ्य इकाईको प्रगति विवरण प्रमुख जानकी रोका, पत्थरगढवा स्वास्थ्य इकाईको प्रगति विवरण प्रमुख चन्द्रा चौधरी, देविकोट स्वास्थ्य इकाईको प्रगति विवरण प्रमुख कार्कीले स्वास्थ्यका विषयमा प्रमुखहरूले प्रतिवेदन पेश गरेका थिए ।
स्वास्थ्य संस्थाको भौतिक संरचना तथा अन्य सेवासम्बन्धी विवरणमा राप्ती गाउँपालिकाका स्वास्थ्य संस्थामा पाँचवटा अस्थायी परिवार योजना सेवा, किशोर किशोरी मैत्री स्वास्थ्य संस्था, पोषण पुनस्र्थापन गृह र केन्द्र, माइक्रोस्कोपिक सेन्टर, न्यूवर्न कर्नर सेवा,
नागरिक वडापत्रको, सामाजिक नक्साको, अत्यावश्यक औषधीको सूचिको, कार्यरत कर्मचारीको विवरण, महिला स्वास्थ्य स्वयम्सेविकाको फोटोसहितको नामावलीको र २०७५ को निर्देशिका अनुसार स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समिति गठनका बारेमा छलफल तथा जानकारी गराइएको छ ।
स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीसम्बन्धी विवरणका साथै स्वास्थ्य कार्यक्रमको मुख्य प्रगतिहरू, स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन संख्या, गाउँघर क्लिनिकको मासिक प्रतिवेदन संख्या, खोप क्लिनिकको मासिक प्रतिवेदन संख्या, प्रतिवेदन गने महिला स्वास्थ्य स्वयंसेविकाहरूको संख्या, स्वास्थ्य संस्थाबाट प्रतिदिन सेवा दिएको औषत संख्या,
गाउँघर क्लिनिकहरू प्रतिदिन सेवा दिएको औषत संख्या, खोप क्लिनिकहरूबाट प्रतिदिन सेवा दिएको औषत संख्या, महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट प्रति महिना सेवा दिएको औषत संख्या, स्वास्थ्य सेवाको लागि सेवा लिन आएका नयाँ सेवाग्राहीहरूको संख्या, स्वास्थ्य संस्थामा सेवा लिन आएका जेष्ठ नयाँ सेवाग्राहीहरूको संख्या र स्वास्थ्य सेवाको लागि सेवालिन आएका औषत पटकका बारेमा स्वास्थ्य संस्थाका विवरण प्रस्तुत गरेका थिए ।
राप्ती गाउँपालिकामा गत आर्थिक वर्षको खोप कार्यक्रमलाई विगतका वर्षमा भन्दा सुधार गर्दै खोपलाई निरन्तरता र सबैको पहँुचमा पु¥याउन सबै खोप केन्द्रमा सक्रिय रहेको बताईएको छ । बालबालिका तथा लक्षित उमेरको पोषण कार्यक्रमको मुख्य सूचकहरूको अवस्थासमेत जानकारी गरिएको छ ।
पछिल्लो समयमा परिवार नियोजन योजना र परिवार नियोजनका साधनको प्रयोगको अवस्थामा क्रमिक रूपमा फरकपना आईरहेको बताइएको छ । सरकारी स्वास्थ्य संस्थाबाट नागरिकले प्रयोग गर्दै आएको परिवार नियोजनका साधनमा आयुसिडि,
इम्प्लान्ट, पिल्स, डिपा, बन्ध्याकरण, कण्डमको प्रयोग कम हुँदै गएको समेत बताईएको छ जसको कारणमा सहजरूपमा क्लिनिकहरूको उपलब्धता र ब्यक्तिगत क्लिनिकहरूले रेकर्ड नराखेको पाईएको छ ।
छलफलले महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई क्रियाशील बनाउन गरिएका प्रयासका बारेमा समीक्षा गरिएको छ । स्वास्थ्य आमा समूहको बैठक संख्या,
महिला स्वास्थ्य स्वयम्सेविका कोष प्रयोग गर्ने महिलाहरूको संख्या, महिला स्वास्थ्य स्वयम्सेवकका कोषमा जम्मा रकम, स्वास्थ्य स्वयम्सेवकका कोषबाट लगानी भएको रकम, कोषवाट लगानी भएको रकम बारेमा स्वास्थ्य प्रमुखले जानकारी दिए ।
रोग नियन्त्रण कार्यक्रमहरूको मुख्य सूचकहरूको अवस्था, एचआइभी परिक्षण गरिएका गर्भवती महिलाहरूको संख्या, डेंगुको उपचार सेवा पाएकाको संख्या, हात्तिपाइलेको उपचार सेवा पाएकाको संख्या, सिकेलसेल रोग पोजेटिभमध्ये उपचारमा रहेकाको संख्याबारे जानकारी गराउँदै सञ्चालित कार्यक्रमहरूको बारेमा समेत छलफल गरिएको हो ।
सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउँदै कार्य गरिएकोमा लक्ष्यअनुरूप प्रगति हुन नसकेको, भौगोलिक विकटता स्वास्थ्य इकाई केन्द्रबाट समेत उल्लेखित सेवा प्रदान गरिने भएको, लकडाउनको कारणले छिमेकी जिल्लाबाट आउने गर्भवती र सुत्केरी आउन नसकेको र छिमेकी स्वास्थ्य चौकीको कार्यक्षेत्रबाट आउने गरेका सेवाग्राहीहरू सोही संस्थाबाट सेवा लिन थालेको जानकारी गरिएको छ ।
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको संयोजकत्वमा भएको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख
डा. अंगदबहादुर साही, वडा अध्यक्ष जगतबहादुर थापा, विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधि डा. पवन कुमार उपाध्यायलगायतले राप्ती गाउँपालिकाको स्वास्थ्य संस्थाको गत वर्षको प्रगतिको समीक्षा तथा सुधारको विषय तथा कोभिड–१९ को प्रभाव र बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।