उच्छृङ्खल गतिविधि रोक्दै प्रहरी
कार्तिक २९, २०७६
तुलसीपुर, २९ कार्तिक । आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनमा गलत क्रियाकलाप गर्नेलाई कडा कारवाही गरिने भएको छ । दाङ क्षेत्र नं ३ ‘ख’ प्रदेश सभा सदस्य पदको उपनिर्वाचनलाई भयवित गराउने कुनैपनि व्यक्ति तथा संस्थालाई सोही अनुसारको कारवाही गरिने ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । कोही कसैले सिफारिस गर्दैमा पीडक कारवाहीबाट उम्कन नपाउने भन्दै प्रहरीले उपनिर्वाचनको समयमा उच्छृङ्खल गतिविधि नगर्न सबैलाई अनुरोधसमेत गरेको छ ।
नजिकिदै गरेको उपनिर्वाचनलाई मध्यनजर गर्दै राजनैतिक दलहरूसँग गरिएको छलफलमा प्रहरीले राजैनीतिक आवरणमा गलत क्रियाकलाप गर्ने संस्था, व्यक्ति तथा राजनैतिक दलका नेताहरूलाई उजुरीका आधारमा कारवाही गरिने चेतावनी दिएको छ ।
चुनावी प्रचारप्रसारका क्रममा दोस्रो पक्षलाई मानहानी हुने, झै–झगडा गर्ने, कुटपिट गर्ने, होहल्ला गर्ने, मादकपदार्थ सेवन गर्नेजस्ता क्रियाकलापहरू गरेको पाइएमा सोही अनुसारको उजुरी दर्ता गरी कारवाही गरिने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताएका छन् ।
उनले स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेता, कार्यकर्ता लगायतलाई आफ्नो निकटको व्यक्ति भन्दै अपराधबाट बचाउन नपाउने भन्दै सचेतसमेत गराए । हामी अपराध गर्ने कोही कसैलाई छोड्ने छैनौँ, उनले भने– ‘मेरो, पार्टीको, नजिकको आफ्नो हो मिलाउनु प¥यो भनेर कोही नआए हुन्छ, कानुनी प्रक्रियामा गई कारवाही हुन्छ, बचाउने र लुकाउने हुँदैन ।’
यसैगरी ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र बहादुर डमरपालले उपनिर्वाचनको समयमा कुनैपनि अराजक गतिविधिहरू नगर्न सबैलाई आग्रह गरेका छन् ।
चुनावका समयमा सबैभन्दा धेरै युवा परिचालन हुने भएकाले स–साना विषय लिएर ठूला घटनाहरू घट्ने सम्भावना बढी भएको भन्दै उनले सबैलाई सचेत रहनुपर्ने बताएका छन् । राजनैतिक दलहरूको आडमा कुटपिट र अन्य विभिन्न अपराधजन्य गतिविधिहरू हुने भन्दै उनले त्यस्ता घटना घटाउने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिएका छन् ।
कोहि कसैले हाम्रो भनेर सिफारीस गर्न आए पनि उजुरी परे कारवाही हुन्छ, उनले भने– ‘काम, समयवाधि र परिवेश हेरेर मात्र चुनावी प्रचारप्रसार गर्न अनुरोध छ ।’
यसैगरी स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेताहरूले आफ्ना कार्यकर्तालाई संयमित हुन आग्रह गर्ने बताएका छन् । उपनिर्वाचनलाई सभ्य र प्रभावकारी बनाउन हरेक निकाय जिम्मेवारी हुनुपर्ने भन्दै उनीहरूले यस्ता कुनैपनि अपराधिक घटनाहरू आफ्नो पार्टीको तर्फबाट घट्न र घटाउन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
उक्त छलफलमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, ईलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डन, नेपाली काँग्रेस दाङका जिल्ला सदस्य यज्ञनारायण आचार्य, क्षेत्र नं ३ ‘ख’ का सभापति खिम वहादुर वली, राप्रपा सदस्य बंशीकुमार शर्मा, राप्रपा संयुक्तका हंसराज केसी, पत्रकार नारायणी रजौरेलगायतको सहभागिता रहेको थियो ।